प्रतिनिधिसभा सदस्यको लागि झापा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता स्वागत नेपाल समातिएका छन् । नेपालले सामाजिक सञ्जालमार्फत् हिंसात्मक अभिव्यक्ति दिएको कसुरमा प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो ।
पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित जुलुसको क्रममा नेपालले पृथ्वीनारायण शाहको विरोध गर्नेको टाउको काट्ने बताएका थिए । त्यतिबेला उत्तेजित हुँदै भनेका थिए, ‘को हो पृथ्वीनारायण शाहको विरोध गर्ने ? जसले विरोध गर्छ, त्यसको टाउको काटिन्छ, काट्नुपर्छ, म काट्छु !’
उक्त अभिव्यक्तिले समाजमा हिसात्मक गतिविधिलाई बढावा दिने खतरा बढेपछि प्रहरीले नेपालमाथि निगरानी राखेर नियन्त्रणमा लिएको बताइन्छ । यद्यपि, अहिले उनी रिहा भइसकेका छन् । समातिएकाे केही घण्टामै उनले अबदेखि त्यसप्रकारको अभिव्यक्ति नदिने भन्दै माफी मागेपछि बोलाएको अवस्थामा उपस्थित हुनेगरी छाडिएको ब्युरोले जनाएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपालले पूर्व सभामुख देवराज घिमिरे (एमाले) र पूर्व उपसभामुख इन्दिरा राना मगर (रास्वपा)सँग प्रतिस्पर्धा गर्दैछन् ।