विशेषज्ञ नै विकृतिको पर्याय बनेपछि कसको के लाग्दो रहेछ र १ पैसा कमाउने नाममा पेशागत मर्यादा नै बिर्सँदा रुपन्देहीका चोक–चोकमा अस्पताल सञ्चालनमा छन्। विशेषज्ञ चिकित्सकहरूले नै अस्पतालमा खेलाँची गरिरहेका छन्, त्यो पनि नाम चलेका डाक्टरहरूद्वारा । तराई–मधेसमा झोले डाक्टरको बिगबिगी नौलो होइन, तर विशेषज्ञताप्राप्त चिकित्सकहरूले नै कानुन मिचेर नाफाका लागि जे पनि गर्न थालेपछि नियमनकारी निकायले आँखा चिम्लिँदा आम सर्वसाधारण अन्योलमा परेका छन्।
स्वास्थ्य क्षेत्रको हबका रूपमा विकास हुँदै गएको रुपन्देहीमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा बेथिति पनि बढ्दै गएको छ। बुटवल, भैरहवा मात्र होइन, गाउँ–गाउँका चोकमा समेत डाक्टरहरूले जथाभावी उपचार गरिरहेका छन्।
एउटा रोगको विशेषज्ञ चिकित्सकले सबै रोगको उपचारको ठेक्का लिने प्रवृत्ति रुपन्देहीमा बढ्दै गएको छ। मुटुरोग विशेषज्ञ डा. सुधिर शाहले सामाजिक सञ्जालमार्फत् १५ दिनमै सुगर, थाइराइड र कोलेस्ट्रोल निको हुने प्रचार गरिरहेका छन्। उनी पहिले भैरहवामा बसेर उपचार गर्थे भने हाल बुटवल हिलपार्क क्षेत्रमा क्लिनिक सञ्चालन गरिरहेका छन्।
विज्ञहरूका अनुसार सुगर, थाइराइड र कोलेस्ट्रोलजस्ता ग्रन्थीसम्बन्धी रोग दीर्घकालीन औषधि सेवन नगरी निको हुँदैन । तर डा. शाहले १५ दिनमै ठीक पार्ने दाबी गर्दै सामाजिक सञ्जालमा आक्रामक प्रचार गरिरहेका छन्। यस सम्बन्धमा उनले सार्वजनिक रूपमा उपलब्ध गराएको नम्बर ९७०२०५६२९९ मा सम्पर्क हुन सकेन।
यसैगरी, युरोलोजिस्ट डा. प्रविन धितालले बुटवलमा ‘चिरायु हेल्थ होम क्लिनिक’ सञ्चालन गरिरहेका छन्। उक्त क्लिनिकमा युरोलोजीसम्बन्धी सामान्य परामर्श मात्र होइन, मृगौलाको पत्थरी तथा प्रोस्टेटको अपरेसनसमेत गरिन्छ । अपरेसनका लागि आवश्यक एनेस्थेसिया, बिरामीको अन्य स्वास्थ्य परीक्षणका लागि फिजिसियन, सुविधा सम्पन्न ल्याब तथा तालिमप्राप्त नर्सिङ स्टाफ आवश्यक पर्ने भए पनि ती सुविधा नहुँदा–नहुँदै अस्पताल सरह अपरेसन र बिरामी भर्ना गरिँदै आएको बताइन्छ।
बुटवलमै ‘काव्या पोर्टो लेजर क्लिनिक’ सञ्चालनमा छ, जहाँ पाइल्स, फिसर र फिस्टुलाका अपरेसन गरिन्छ। डा. विश्वदीप तिमिल्सिनाले अपरेसन गर्छन्। त्यस्तै ‘प्रकृति हेल्थ केयर’ बुटवलमा डा. प्रकृति कडेलले हाडजोर्नीको अपरेसन गर्छन्। यी दुवै क्लिनिकमा न एनेस्थेसियन छ, न त पर्याप्त नर्सिङ स्टाफ, तर अपरेसन भने गरिँदै आएका छन्।
बुटवलझैँ भैरहवामा पनि समस्या उस्तै छ। लुम्बिनी रोडमा सञ्चालित ‘भैरहवा मल्टी स्पेसलिटी अस्पताल’ १५ बेडको प्राथमिक अस्पताल भए पनि ‘मल्टी स्पेसलिटी’ नाम राखिएको छ, जुन नियमविपरीत हो । उक्त अस्पतालमा हाडजोर्नी, मेरुदण्ड, पत्थरी, पेट, एपेन्डिसाइटिस तथा सिजेरियनजस्ता ठूला अपरेसन हुने गरेका छन्। लोडसेडिङ हुँदा आवश्यक विद्युत् ब्याकअपसमेत छैन । अपरेसनका लागि आवश्यक एनेस्थेसियन, फिजिसियन र दक्ष नर्सको अभाव छ।
मायादेवी गाउँपालिकाको बेथरी चोकस्थित ‘सिद्धिविनायक पोलिक्लिनिक’ मा सेवा कम र प्रचार बढी देखिन्छ। १०० बेडको अस्पतालसरह सेवा दिने दाबी गरिए पनि न रेडियोलोजिस्ट छन्, न मुटुरोग विशेषज्ञ। त्यस्तै ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित ‘लुम्बिनी म्याक्स अस्पताल’ मा १५ बेडको अनुमति लिएर हर्निया, पत्थरी, एपेन्डिक्स, हाडजोर्नी, नाक–कान–घाँटी तथा युरोलोजीसम्बन्धी अपरेसन गरिन्छ। ख्यातिप्राप्त चिकित्सक डा. प्रविन जोशी संलग्न भए पनि मेजर अपरेसनका लागि आवश्यक टिम स्थायी रूपमा उपलब्ध हुँदैन ।
ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरू स्वयं संलग्न भएर सञ्चालित क्लिनिक, पोलिक्लिनिक र अस्पतालहरूले किन मापदण्डविनै मेजर अपरेसन गरिरहेका छन् ? पैसा नै सबैथोक हो त ? यही प्रश्न अहिले रुपन्देहीका चौक–चौराहामा बहसको विषय बनेको छ।
स्वास्थ्य संस्थाको अनुगमन जिम्मेवारी पाएको जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख उमा रानाले तीन तहका सरकारबीच अधिकार स्पष्ट नभएकाले अनुगमन गर्न नसकिएको बताइन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी मेघनाथ पाध्यायले उजुरी आएपछि मात्र अनुगमन गर्न सकिने बताए।
नेपाल सरकारले अस्पताल सञ्चालनका लागि तहगत वर्गीकरण गरेको छ । ५–१५ बेडका प्राथमिक अस्पताल, १५–२५ र २५–५० बेडका सेकेन्डरी अस्पताल, १०० बेडभन्दा माथिका टर्चरी केयर अस्पताल तथा संघीय स्वीकृत सुपर स्पेसलिटी अस्पताल भनिन्छ । तर स्थानीय तहबाट स्वीकृति लिएका साना अस्पतालले समेत सबै सेवा दिइरहेको प्रचार गरिन्छ ।
स्वास्थ्य मानिसको मौलिक अधिकार हो। नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर राज्यको उदार नीतिको दुरुपयोग गर्दै सेवा होइन, व्यापार भइरहेको देखिन्छ।
ठूला फ्लेक्स बोर्ड, आकर्षक विज्ञापन, नाम चलेका डाक्टरका तस्बिर र बायोडाटाले गाउँका सोझासाझा नागरिक समेत झुक्किने अवस्था छ। न दर–रेट छ, न सहुलियत। जाँचको समय, संख्या र गुणस्तर सबै मनपरी छ। तीन तहका सरकारको अधिकार क्षेत्र अस्पष्ट हुँदा अहिले ‘अस्पताल छ, डाक्टर छैन’ र ‘हेल्मेट डाक्टर’को भरमा अस्पताल चल्ने अवस्था बनेको छ।