उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको क्षणिक एकताबाट ठूलो पाठ सिकेको बताएका छन्। राजधानीमा आज आयोजित पार्टीको कार्यक्रममा उनले अब कहिल्यै पनि अन्य राजनीतिक दलसँग एकता नगर्ने स्पष्ट संकेत दिएका हुन्।
घिसिङले बताएअनुसार, रास्वपासँगको एकता गर्ने निर्णय गरेको मितिदेखि पार्टी १२ दिनसम्म ‘कोमामा’ परेको अनुभव भएको थियो। उनले भनेः ‘पार्टी गठन भएको तीन महिनामा पनि यस्तो अनुभव कहिल्यै भएको थिएन, तर हामी १२ दिन कोमामा पनि गयौँ। अहिले तन्दुरुस्त भएर निस्किएका छौँ। अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो पार्टीको नाम र चुनाव चिह्न विलय हुन दिने छैनौँ।’
निवर्तमान उर्जामन्त्री समेत रहेका घिसिङले रास्वपालाई लक्षित गर्दै केही नेताहरूले सामाजिक सञ्जालमा मतदातालाई भ्रममा पार्ने प्रयास गरिरहेको पनि बताए। उनले थपेः
‘केही साथीहरूले हामीलाई नयाँ शक्ति भनेर प्रचार गरिरहेका छन्, तर त्यो केवल भ्रम सिर्जना गर्ने प्रयास हो। वास्तवमा नयाँ शक्ति भनेको उज्यालो नेपाल पार्टी हो।’