सामाजिक सञ्जालमा देखिने हजारौँ लाइक र लाखौं भ्युज साँच्चै जनसमर्थनको संकेत हुन् कि पैसाले बनाइएको भ्रम ? पछिल्लो समय फेसबुक, टिकटक र एक्स जस्ता प्लेटफर्ममा देखिने ‘डिजिटल लोकप्रियता’को ठूलो हिस्सा नक्कली भएको तथ्य सार्वजनिक हुन थालेको छ।
प्राविधिक विशेषज्ञका अनुसार सामाजिक सञ्जालमा देखिने जनलहरको ठूलो भाग पछाडि सञ्चालित लाइक फार्मिङ र डिजिटल म्यानिपुलेसनको परिणाम हो । यसलाई व्यवसायिक फाइदा र राजनीतिक प्रभाव विस्तारका लागि योजनाबद्ध रूपमा प्रयोग गरिँदै आएको छ।
रास्वपाका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार राजीव खत्रीले आफ्नो फेसबुक पोस्टमा नक्कली इङ्गेजमेन्ट भएको स्वीकार गरिसकेका छन्। तर उनले यसका लागि को जिम्मेवार हो भन्ने थाहा नभएको दावी गरेका छन्। उनका पोस्टमा विदेशी प्रोफाइलबाट धेरै प्रतिक्रिया देखिनु यसबारेको संकेत हो।
रास्वपाका वरिष्ठ नेता बालेनका पोस्टमा पनि छिनमै लाखौँ लाइक र कमेन्ट देखिन्छ। विज्ञहरूको अनुमान अनुसार, त्यहाँ पनि डिजिटल खेलोफड्को भएको हुनसक्छ।
अल्गोरिदमले देखाउने संसार
सामाजिक सञ्जालमा प्रयोगकर्ताले के देख्छन् भन्ने निर्णय संयोगमा आधारित हुँदैन। प्लेटफर्मका अल्गोरिदमले प्रयोगकर्ताको हेर्ने बानी, स्क्रोल गर्ने समय, लाइक–कमेन्टको आधारमा सामग्री चयन गर्छ। उद्देश्य एउटै हुन्छ—प्रयोगकर्तालाई लामो समय स्क्रिनमा राख्नु।
एक पटक कुनै भिडियो पूरा हेरेपछि त्यससँग मिल्दोजुल्दो सामग्री लगातार देखिन थाल्छ। साथीहरूको बढी इन्गेजमेन्ट भएको पोस्ट पनि प्राथमिकतामा पर्छ। यही प्रणालीको कमजोरीलाई प्रयोग गर्दै नक्कली लाइक र कमेन्टमार्फत सामग्रीलाई भाइरल बनाइन्छ।
दक्षिण एसियामा फस्टाएको लाइक फार्मिङ
नेपाल, भारत, बंगलादेश र पाकिस्तानमा लाइक फार्मिङ अहिले संगठित व्यवसायको रूपमा फैलिएको छ। विकसित मुलुकमा श्रम खर्च र कानुनी जोखिम उच्च भएकाले त्यहाँका कम्पनीहरूले दक्षिण एसियाका देशमा सस्तो श्रम र कमजोर नियमनको फाइदा उठाइरहेका छन्।
लाइक फार्मिङमा बोट, फेक अकाउन्ट र सफ्टवेयर प्रयोग गरेर केही मिनेटमै हजारौँ लाइक र कमेन्ट गराइन्छ। यसले अल्गोरिदमलाई ‘यो सामग्री लोकप्रिय छ’ भन्ने सन्देश दिन्छ र पोस्ट स्वाभाविक रूपमा अझ धेरै प्रयोगकर्तासम्म पुग्छ।
विशेषज्ञका अनुसार, अब यो काम मानिसले मात्र होइन, एजेन्टिक एआई प्रणालीले स्वचालित रूपमा गरिरहेको छ। फरक–फरक शब्द प्रयोग गरेर वास्तविक प्रयोगकर्ताजस्तै प्रतिक्रिया उत्पादन गरिन्छ, जसले नक्कली गतिविधि छुट्याउन झन् कठिन बनाएको छ।
चुनावमा डिजिटल युद्ध
लाइक फार्मिङको प्रयोग व्यापारमा मात्र सीमित छैन। राजनीतिक दलहरूले पनि यसलाई प्रभाव विस्तारको हतियार बनाएका छन्। अब चुनावी अभियान सडकमा मात्र होइन, सामाजिक सञ्जालमा पनि लडिन्छ।
भारतमा दलका आईटी सेल र ट्रोल नेटवर्कमार्फत् पक्षमा माहोल बनाउने र विपक्षीलाई बदनाम गर्ने अभ्यास व्यापक छ। नेपालमा पनि ‘आईटी आर्मी’ नाममा सक्रिय डिजिटल समूहको अस्तित्व नेताहरूले स्वीकार गरिसकेका छन्।
राजनीतिक पोस्टमा अस्वाभाविक लाइक, नकारात्मक रियाक्सन र गालीगलौजले मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने उद्देश्य राखिएको छ। विज्ञहरूले यसलाई कृत्रिम सहमति निर्माण भनेका छन्।
नक्कली लोकप्रियताको जोखिम
मनोविज्ञानका विज्ञहरू भन्छन्, मानिसहरू धेरै लाइक र भ्युज भएको सामग्रीलाई सहजै विश्वास गर्छन्। यही प्रवृत्तिको फाइदा उठाएर गलत सूचना, अतिरञ्जित दाबी र प्रोपोगण्डा फैलाइँदैछ। अत्यधिक भावनात्मक प्रतिक्रिया जगाउने सामग्रीप्रति सतर्क रहनुपर्छ। लाइकको संख्या भन्दा कमेन्टको गुणस्तर, स्रोतको विश्वसनीयता र तथ्यको पुष्टि महत्वपूर्ण हुन्छ।
डिजिटल प्लेटफर्ममा देखिने लोकप्रियता सधैं वास्तविक नहुन सक्छ। लाइक र भ्युजको आधारमा विचार बनाउँदा लोकतान्त्रिक निर्णय प्रक्रियामा असर पर्न सक्छ। विशेषज्ञहरू भन्छन्, डिजिटल साक्षरता अब वैकल्पिक विषय होइन, अनिवार्य आवश्यकता हो। स्क्रिनमा देखिने सबै लोकप्रिय सामग्री सत्य नहुन सक्छ भन्ने चेतना आजको डिजिटल समाजका लागि अपरिहार्य बनेको छ।