नलगाडले विदुर भत्ता दिने
जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्षमाथिका विदुर पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । आजको कार्यपालिका बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी भत्ता दिने निर्णय गरेको हो ।
पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने बित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ । जसका कारण उनीहरू बिचल्लीमा परेका छन् । अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएपछि विदुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर रावतले बताए ।
नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकले गर्भवती र सुत्केरीलाई नि:शुल्क रूपमा यातायात सेवा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीका लागि निःशुल्क रूपमा प्रयोग हुने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । आर्थिक अभावकै कारण धेरै महिलाले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको उनले बताए ।
टिप्पणीहरू