ती वेश्या, जसले प्रधानमन्त्रीको मुख थुनिदिइन्

ती वेश्या, जसले प्रधानमन्त्रीको मुख थुनिदिइन्

काठियावाड भारतको गुजरात राज्यअन्तर्गत पर्दछ । यो एउटा प्रायद्वीप हो । यहीं एउटा शिक्षित, धनी र प्रतिष्ठित परिवारनिकट त्यहाँको राजपरिवारसित सम्बन्ध भएको । परिवारका मुली हरजीवनदास वकिल । सोही परिवारमा सन् १९३९ मा एउटी छोरीको जन्म भयो । नाउँ राखियो गंगा हरजीवनदास । परिवारका सबैजना चाहन्थे– उनले उच्च शिक्षा हासिल गरुन् र ठूलो मान्छे बनुन् ।

तर, स्वभावले चुलबुली गंगाको दिमागमा भने मुम्बैका सिनेमाको चमकधमक थियो । आफैँ मुम्बै पुगेर चलचित्रको सफल नायिका बन्न चाहन्थिन् । उनी कलेजमा पढ्दै गर्दा हरजीवनदासको ल फर्ममा लेखापाल थिए– रमनिक लाल, मुम्बैका बासिन्दा र हरजीवनदासको मित्रका छोरा । गंगा अक्सर ल फर्म गइरहन्थिन् । पटकपटकको भेटघाट र देखादेखपछि रमनिकलाई मन पराउन थालिन् । रमनिक पनि गंगाको सौन्दर्यबाट मख्ख थिए ।

हरजीवनदास छोरीको बिहे छिटो गरिदिन चाहन्न थिए । गंगालाई बाबुको बानी राम्रोसित थाहा थियो । यसर्थ कसैलाई थाहा नदिई एकदिन उनीहरु घरबाट भागे । रमनिकले गंगालाई मुम्बै लगे पनि आफ्नो घरमा लगेनन् । कोठा भाडामा लिएर बस्न थाले । मुम्बै पुगेलगत्तै नजिकको मन्दिरमा गएर बिहे गरे । गंगाको दिमागमा अभिनेत्री बन्ने भूत सवार थियो । जब उनले लोग्नेलाई यसनिम्ति दबाब दिन थालिन्, रमनिकले गंगालाई बोझ ठान्न थाले ।

एकदिन दिमागमा सैतान सवार भयो । चलचित्रमा खेलाउने भनेर शिला अन्टीकोमा लिएर गए । चलचित्र जगतमा सबैलाई चिनेकी भनिने शिला वास्तवमा आफैं वेश्या थिइन् र कोठी चलाउँथिन् । रमनिकले गंगालाई भारू ५ सयमा बेचिदिए । हिरोइन बन्ने रंगीन सपना देखेकी गंगाका निम्ति दुःख र कष्टको दिन शुरू भयो । उनी दिनहुँ ८/१० जना पुरुषको वासनाको शिकार बन्न थालिन् ।

गंगाले वेश्यावृत्ति गर्ने स्थान कमाठिपुराको नाउँले बदनाम छ । कमाठिपुराभरि वेश्यालय मात्रै छन् भन्ने होइन । तर, त्यहाँको वेश्याबजार भारत मात्र होइन, एसियाभरिकै ठूलो देहव्यापार केन्द्र हो । यहाँ सन् १७९५ मै बस्ती बसिसकेको थियो । त्यसबेला तेलंगानामा पानी नपरेर सुख्खा प¥यो । भोकमरी र महँगाइले हाहाकार मच्चियो । ठूलो संख्यामा जनताको रोजगारी गुम्यो । किसान र मजदुर आश्रयको खोजीमा मुम्बै पुगे र ग्राण्ड रोडमा बस्न थाले ।

तेलगु कामदारहरू बस्न थालेपछि यो स्थानको नाउँ कमाठिपुरा रह्यो । कमाठीको अर्थ श्रमिक हो । पहिला यो स्थानलाई लालबजार भनिन्थ्यो । कमाठिपुरामा वेश्याबजार ३९ एकड जमिनभरि फैलिएको छ । जहाँ नेपाली चेलीहरू पनि धेरै छन् । आजभन्दा १ सय ५० वर्षअगाडि पोर्चुगिज र अंग्रेजहरूले आफ्ना सेनाको यौनभोकपूर्तिको खातिर भारतको विभिन्न स्थानबाट युवतीहरू खोजेर ल्याई यहाँ वेश्यावृत्ति गराउन थालेका थिए । पछि वेश्यालय बढ्दै गयो । सन् १९९२ मा संकलित एउटा तथ्यांकअनुसार कमाठिपुरामा मात्र ५० हजार वेश्या थिए । सुनिन्छ, आजभोलि यो संख्या निकै कम छ ।

गंगालाई मन पराउनेमध्ये शौकत खाँ पनि थिए । शिलाको वेश्यालय उनी गंगासँग समय बिताउनकै लागि जान्थे । र, गंगाबाट यौनसन्तुष्टि मात्र लिँदैनथे, साथसाथै अति हिंस्रक बनी शारीरिक अत्याचार पनि गर्थे । कहिलेकाहीँ अत्याचार यति बढ्थ्यो कि गंगाले अस्पताल नै भर्ती हुनुपथ्र्यो । दिनहुँको अत्याचार सहन नसकेपछि एकदिन उनी करिम लालाको शरणमा पुगिन् । करिम मुम्बैका ३ जना महसुर माफियामध्येका एक हुन् । अरु दुई जना हाजी मस्तान र भरादाराजन मुर्लियर ।

पठान जातिका करिमको जन्म अफगानिस्तानमा भएको हो, उनी सन् १९२० को दशकमा भारत पसे भने परिवार मुस्लिमको बसोवास क्षेत्र दक्षिण मुम्बैमा बस्यो । शुरूमा मजदुरी गरेर पेट पाले तर पछि मारवाडी र गुजराती व्यापारीसित पैसा ठग्न माहिर पठानहरूको ग्याङमा सामेल भएर आपराधिक गतिविधिमा संलग्न भए । पछि आफ्नै ग्या¨ बनाए र स्मग्लिङ, किडन्यापिङ, हत्या, मारकाट, अवैध जुवा सञ्चालन, जबर्जस्ती सम्पत्ति कब्जाजस्ता काम गर्न थाले । कमाठिपुरा उनको इलाका थियो । उनको नामैले सबै जना थरथर काँप्थे ।

गंगाले उनको नाउँ र कर्तुतबारे सुनेकी थिइन् । एकदिन वेश्यालय मालिक्नी शिलाको अनुमतिबेगर करिमसँग भेट्न गइन् र शौकतका अत्याचारको बखान गरिन् । शौकत करिमकै ग्याङका सदस्य थिए । करिमले सहायता गर्ने वचन मात्र दिएनन्, साथसाथै गंगालाई बहिनीसमेत माने । करिम दादाको आशीर्वादको कारण अब कमाठिपुरामा गंगा शक्तिशाली बनिन् । करिम दादाकै मानिसहरूको हातबाट शौकतले मरणासन्न हुने गरी पिटाइ खाए । वेश्यालयभित्र मालिक्नी शिला पनि गंगादेखि डराउन थालिन् ।

यसबीच शिलाको मृत्यु भयो । अब उनको वेश्यालय चलाउने जिम्मा गंगाले उठाइन् । गंगाबाट गंगुबाई बनिन् । मालिक्नी बने पनि अन्य वेश्यालयका मालिक्नीहरूसरह कठोर बनिनन् । कसैलाई जबर्जस्ती धन्दामा लाग्न विवश पारिनन् । आफ्नो वेश्यालयमा काम गर्ने महिलालाई स्वतन्त्रता प्रदान गरिन् । वेश्यावृत्तिमा लाग्न विवश महिलाहरूको सशक्तिकरण र जीवनस्तर उच्च पार्न लागिपरिन् ।

वेश्यालयमा बाबुको ठेगान नभएका बच्चा धेरै हुन्छन् । कतिपयले चाहेरै सन्तान जन्माउँछन् भने कतिपयले चाहिँ थाहा नपाई गर्भाधान गर्छन् । गंगुबाईले यसरी जन्मिएका सन्तानको पढाइ, लेखाइ र हुर्काइमा ध्यान दिइन् । वेश्याका छोराछोरी भनेर स्थानीय पाठशालाले भर्ना लिन मान्दैनथे । गंगुले शिक्षा पाउने अधिकार सबैलाई हुन्छ भनेर यसको पक्षमा लडिन् । गंगु आफैँ वेश्या हुन्, वेश्याहरूकी मालिक्नी पनि तर यति हुँदाहुँदै पनि उनले उक्त इलाकामा वेश्यावृत्तिमा संलग्न महिलाको पक्षमा आवाज उठाएकै कारण वेश्यामाझ निकै लोकप्रिय बनिन् ।

यहाँसम्म कि अन्य वेश्यालयमा कार्यरत महिलाले समेत आ–आफ्नो कक्षमा उनको तस्बिर राख्न थाले । कमाठिपुराको वेश्याबजारमा मालिक्नीहरूबीच ठूलो सत्ता संघर्ष चल्छ । एकले अर्कोलाई होच्याउने, दमन गर्ने र आफूलाई सफल नाइके, मालिक्नी सम्झँदै यो हैसियत पाउन मारामारी गर्छन् । गुण्डामार्फत दबदबा राख्ने कोसिस गर्छन् । गंगुले पनि कमाठिपुराका वेश्यामाझ ‘नमुना वेश्या’ बनेर देखाउने निधो गरिन् र करिम लालाको सहयोगमा इलाकाकै नेतृत्व हत्याउने कोसिस गरिन् । इलाकामा सम्पन्न निर्वाचन जितेर देखाइन् ।

एक समय यस्तो आयो, स्थानीय पाठशाला र बासिन्दाले वेश्या बजारको कारण इलाका नै बदनाम भएको, महिलाहरुलाई घरबाट निस्कन गाह्रो हुन थालेको र बच्चाबच्चीमा नराम्रो असर परेको भनेर वेश्याबजार खाली गर्न आवाज उठाए । सरकारले पनि जनताको आवाजको पक्षमा भन्दै सूचना जारी ग¥यो । गंगुले यो निर्णयविरुद्ध आवाज बुलन्द गरिन् । वेश्याहरूको पनि इज्जत हुन्छ, मानवाधिकार हुन्छ भन्दै बस्ती खाली नगर्ने निधो गरिन् ।

वेश्याहरू कोही पनि आफ्नो रोजीरोटी गुमाउन चाहँदैनथे । त्यसैले गंगुले ती सबैको आवाजको नेतृत्व गरिन् । स्थानीय प्रशासनले आवाज नसुनेपछि राजधानी दिल्ली गएर प्रधानमन्त्रीसम्म कुरा पु¥याउने निधो गरिन् । र, भेटघाटको समय मिलेपछि दिल्लीतिर लागिन् । प्रधानमन्त्री जवाहरलाल नेहरूसँगको भेटमा उनले वेश्या अधिकारको कुरा राखिन् । वेश्याले पनि इज्जतको जीवन जिउन चाहने आवाज उठाइन् ।

गंगुको सौन्दर्य, योग्यता र तर्कबाट नेहरू निकै प्रभावित बने । उनले वेश्याको मागलाई लिएर आफ्नो सरकारले सकारात्मक निर्णय लिने आश्वासन दिँदै एउटा जिज्ञासा राखे– ‘तिमी राम्री छौ, तिमीमा क्षमता छ । किन यो पेशा छाडेर इज्जतको अरु पेशा अपनाउँदैनौ ? किन राम्रो केटासँग बिहे गरेर नयाँ जीवन शुरू गर्दैनौ ?’

गंगुले प्रतिप्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यू, के तपाईं मसँग बिहे गर्न तयार हुनुहुन्छ ?’ गंगुको यो प्रश्नको जवाफ नेहरूसित थिएन । उनी नाजवाफ बने र नमस्कार गर्दै गंगुलाई बिदाइ गरे । गंगुबाईले शानसँग जीवन जिइन् । करिम लालालगायत अन्य माफियासित मिलेर लागुपदार्थ ओसारपसार, ब्ल्याकमेलिङ, स्मगलिङजस्ता आपराधिक कार्य गरी अकूत धन पनि कमाइन् । आफँै माफियारानी बनिन् ।

उनी त्यो बेला कमै मात्रले चढ्ने कालो रंगको बेन्टली गाडी चढ्थिन् । उनको निधन सन् १९७७ को सेप्टेम्बर ८ मा भयो । मृत्युपश्चात् उनको सम्मानमा अर्धकदको सालिक ठड्याइएको छ । उनले ४ जना बच्चालाई धर्म पुत्रपुत्री बनाएकी थिइन् । भारतीय पत्रकार हुसैन जैदीले एउटा पुस्तक निकालेका छन् ‘मुम्बैका माफिया रानीहरू’ । यसमा गंगुबाईको जीवनगाथा उल्लेख छ ।

भारतीय सिनेकर्मी सञ्जयलीला भन्सालीले जैदीको सोही पुस्तकमा आधारित रहेर ‘गंगुबाइ काठियावाडी’ चलचित्र निर्माण गरिसकेका छन् । चलचित्रमा गंगुबाईको चरित्रलाई तोडमरोड गरिएको, कमाठिपुराको बेइज्जत गरेको जस्ता धेरै कुरो उठाएर विरोध पनि भयो । यद्यपि, चलचित्र ४ महिनाअगाडि प्रदर्शित भइसकेको छ । गंगुबाई बनेकी अभिनेत्री आलिया भट्टको अभिनयलाई लिएर सर्वत्र तारिफ भइरहेको छ ।

टिप्पणीहरू