एमाले महाधिवेशनमा राजेन्द्र लिङ्देनकाे चर्चा
नेकपा (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहँदा सम्भावित परिणामलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ ।
बिहान ८ बजेदेखि शुरु भएको मतदानमा करिब ६०० प्रतिनिधिले मत खसालेपछि प्रतिनिधिहरूको नतिजाको पूर्वानुमान गर्न थालेका छन् । बन्दसत्रस्थलमै रहेका एक प्रतिनिधिले मिश्रित परिणाम आउनेसक्ने बताए ।
अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानलका अधिकांश उम्मेदवारबीच थोरै मतको हार-जित हुनसक्ने उनको अनुमान छ । ‘६०० जति प्रतिनिधिले मत खसाले, अरु लाइनमा छन्’, ती नेताले भने, ‘अहिलेसम्म दुवै प्यानलका प्रतिनिधि बराबरको अवस्थामा देखिएका छन्, मिश्रित परिणाम आउनसक्छ ।’
ती नेताका अनुसार कमल थापालाई हराएर राप्रपामा राजेन्द्र लिङ्देनले बाजी मारेजस्तै पोखरेलको पक्षमा परिणाम आउनसक्ने सम्भावना पनि छ । ओलीलाई अहिल्यै अध्यक्ष घोषणा गरिदिए हुने तर्क गर्नेहरू पनि देखिएका छन् ।
महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे र शंकर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । अध्यक्षमा ओलीलाई भोट दिनेहरूले समेत महासचिवमा पाण्डेलाई रोजेको अनुमान उनै नेताले गरे ।
आज राती १० बजेसम्ममा मतदान सकिने अनुमान गरिएको छ । २२६३ महाधिवेशन प्रतिनिधिले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य चयन गर्दैछन् ।
टिप्पणीहरू