गिरिजाप्रसादको नाममा फेरि लफडा
बुटवल उपमहानगरपालिकाले बुटवलमण्डपको नाम संशोधन गर्न खोजेपछि झण्डै दुई दर्जन व्यवसायिक संघसंस्थाले असहमति जनाएका छन् ।
उपमहानगरले पहिलेको नाम परिवर्तन गरेर गिरिजाप्रसाद कोइराला बुटवलमण्डप राख्ने निर्णय गरेपछि २१ वटा संघसंस्थाले असहमति जनाएका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नाम परिवर्तन गर्ने निर्णय यथाशीघ्र फिर्ता लिन आग्रह गरेका छन् ।
‘बुटवलको ऐतिहासिक गौरव, आस्था र अन्तर्राष्ट्रिय पहिचानको आधार स्तम्भको रुपमा स्थापित बुटवलमण्डपको नाम संशोधनमार्फत गिरिजाप्रसाद कोइराला बुटवलमण्डप राख्ने प्रस्ताव यथाशीघ्र फिर्ता लिई आमसर्वसाधारण र व्यवसायिक संघसंस्थाहरुको भावनाको कदर गर्दै ऐतिहासिक र स्थापित नाममा बुटवलमण्डप नै कायम गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
बुटवलको ऐतिहासिक महत्वलाई नै अवमूल्यन गर्दै स्थापित राजनैतिक नेतृत्वलाई विवादमा ल्याउने गरी नामाकरण गरिनु आफैँमा दुःखद विषय भएको उनीहरुले बताएका छन् । उपमहानगरपालिकाले २०७९/८० को नीति कार्यक्रममा नाम परिवर्तन गर्ने प्रस्ताव राखेको थियो । उक्त प्रस्तावको हाल चर्को आलोचना भइरहेको छ ।
टिप्पणीहरू