इन्धनमा कोटा प्रणाली प्रस्ताव : चार पाङ्ग्रेलाई २०, दुई पाङ्ग्रेलाई ५ लिटर
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई नयाँ प्रस्ताव गरेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको बिक्रीबाट अर्बौं रुपैयाँ घाटा व्यहोर्दै आएको निगमले इन्धनमा कोटा प्रणालीको निम्ति सरकारलाई अनुरोध गरेको हो ।
जसअनुसार मोटरसाइकललाई बढीमा पाँच लिटर र चार पाङ्ग्रेलगायत साना सवारीसाधनलाई २० लिटर इन्धन बिक्री गरिने छ । सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले भनेको छ ।
प्रमुख सहरमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । निगमले छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गरेको छ ।ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनलाई पूर्ण क्षमतामा चलाउन र यात्रुवाहक मोटरसाइकल, कार तथा सरकारी सवारी साधनमा सिटभरी यात्रु राख्न भनिएको छ ।
टिप्पणीहरू