नेपाली बजारमा भारतबाहेक थाइल्याण्ड र युगाण्डाको आँप
चालु आर्थिक वर्षको ११ महिनामा नेपालीले करिब ७२ करोडको आँप र अम्बा उपभोग गरेका छन् । पछिल्लो ११ महिनाको भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्म ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ४८ लाख ५२ हजार ६२९ किलो आँप र अम्बा नेपाल भित्रिएको हो ।
सोवापत विभागले छ करोड ९६ लाख १८ हजार रुपैयाँ राजश्व उठाएको छ । आँपको मुख्य सिजन असारको तथ्याङ्क आउन बाँकी रहेकाले चालु आर्थिक वर्षमा एक अर्ब बढीको आँप आयात हुने अनुमान गरिएको छ ।
नेपालमा सबैभन्दा बढी आँप भारतबाट भित्रिएको छ । चालु आर्थिक वर्षमा भारतबाट मात्रै ७१ करोड ७३ लाख २६ हजार रुपैयाँ बराबरको आँप आयात गरिएको छ ।
भारतबाट एक करोड ४८ लाख ५२ हजार ८९ किलो आँप आयात गरिएको जनाइएको छ । थाइल्याण्डबाट एक लाख २९ हजार रुपैयाँ बराबरको तीन सय किलो आँप र अम्बा र युगाण्डाबाट एक लाख ३८ हजार रुपैयाँको २४० किलो आँप र अम्बा आयात भएको विभागको तथ्याङ्कमा देखिएको छ ।
टिप्पणीहरू