भारतले उत्पादन गरेको ‘बायोडी ड्रप्स’ बेच्न नपाइने
औषधी व्यवस्था विभागले ‘बायोडी ड्रप्स’ भनिने औषधी बेचबिखनमा रोक लगाएको छ ।
विभागले सूचना जारी गर्दै भिटामिन सीको रुपमा खुवाउने गरिएको उक्त औषधीको प्रयोगले बालबालिकामा नकारात्मक असर देखिएकाले बिक्रीवितरणमा रोक लगाएको जानकारी दिएको हो ।
‘औषधी ऐन, २०३५ बमोजिम विभागबाट अनुमति नभएका वस्तु औषधिका रूपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षित र प्रभावकारिता बारेमा समेत एकिन नहुने हुँदा त्यस्ता वस्तुको पैठारी तथा विक्री वितरण नगर्न नगराउन र औषधिका रूपमा प्रयोग नगर्न आग्रह गरिन्छ’, सूचनामा भनिएको छ ।
हाल बजारमा उपलब्ध कतिपय भिटामिन तथा लवणका सार तत्व भएका भनिएका वस्तु र औषधि स्वास्थ्यका दृष्टिले अनावश्यक र उपयोगिता नहुने भएकोले त्यस्ता औषधिलाई प्रतिबन्ध लगाइएको विभागले जनाएको छ ।
‘ट्याब्लेट, क्याप्सुल तथा झोललगायत औषधि र खाद्य समपुरकका रूपमा रहेका वस्तुको अत्यधिक पैठारी गरी सञ्चय, विक्री वितरण र प्रयोग भइरहेका सम्बन्धमा ध्यानाकर्षण भएको छ’, विभागले भनेको छ । भारतको जी प्रयोगशालाले ‘बायोडी ड्रप्स’ को उत्पादन गरेको हो ।
टिप्पणीहरू