एयरपोर्टमा चंगा उडाउने, टिकटक बनाउने

एयरपोर्टमा चंगा उडाउने, टिकटक बनाउने

महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनले ५० अर्ब १९ करोड १७ लाख लगानी भएका मुलुकका १९ वटा विमानस्थल सञ्चालनमै नभएको उल्लेख गरेको छ । त्यसमध्ये ४५ करोड खर्चिएर निर्मित इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल पनि पर्छ ।

तीन दशकभन्दा लामो समय खर्चेर निर्माण सम्पन्न भएको यो विमानस्थल अहिले टिकटक बनाउने र चंगा उडाउने स्थान मात्र बनेको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास र तत्कालीन पर्यटन मन्त्री प्रेम आलेसमेत भई २०७८ फागुन १ मा उद्घाटन भएको थियो । तर, उद्घाटन गर्दा खनाल र आलेलगायतको टोलीलाई लिएर आएको नेपाल एयरलाइन्सको जहाज त्यसपछि इलामेले देख्न पाएका छैनन् ।

यता, इलाम नगरपालिकाको पहलमा १७ वटा उडान भने भयो । त्यो पनि नगरपालिकाले प्रत्येक उडानमा ११ जना यात्रुको सुनिश्चितता गरेपछि । नगरपालिकाले यात्रुहरूका लागि ११ लाख ४६ हजार १ सय ९६ रुपैयाँ उडानमा खर्च ग¥यो । नगरको पैसा सकिएसँगै उडान पनि हुन सकेन ।

नगरले यात्रुलाई निःशुल्क टिकट दिइएकोमा विरोध भएको थियो । यती एयरलाइन्सको तारा एयरले नगरपालिकाले कम्तीमा ११ जना यात्रुको सुनिश्चितता गरेपछि १७ पटक उडान भरेको हो । त्यसपछि नगरपालिकाले नेपाल एयरलाइन्ससँग सातामा दुई दिन उडान भरिदिन अनुरोध गरेको छ ।

विमानस्थलमा जहाज उड्न छोडेपछि राप्रपानिकट विद्यार्थीहरूले विरोधस्वरुप चङ्गा उडाएका छन् । यहाँबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ । विमानस्थल बनाउन शुरु भएको १० वर्षमा मात्रै निर्माण पूरा भएको हो ।

नेताहरूले उद्घाटनमा हतारो देखाएपनि उडानमा चासो नदिएका कारण विमान स्थल टिकटक सुटिङ स्थलमा परिणत भएको इलामवासीको गुनासो छ ।

टिप्पणीहरू