स्कुलको क्यान्टिनमा बाख्राको खोर

स्कुलको क्यान्टिनमा बाख्राको खोर

बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवनलाई स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् । स्थानीय गणेश साउदले विद्यालय भवनको चमेना गृहमा बाख्रा बाँध्ने र घाँसदाउरा राख्ने गरेका हुन् ।

विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै उनले विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको स्थानीय बताउँछन् । गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रध्यानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।

विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, साउदले भने जमिन आफ्नो रहेको दाबी गरिरहेका छन् ।

२०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएकोमा थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्काे ठाउँमा सारिएको थियो । त्यसक्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउदले बताए । उक्त भवनलाई विद्यालयले दिवाखाजा पकाउने क्यान्टिनको रुपमा प्रयोग गर्दै आएको थियो ।

तर, साउदले भने स्वास्थ्य चौकीलाई आफूले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने दाबी गरे । उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई दान गरेको हुँ, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’ नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफू जानकार नरहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसे पनि साउदले उक्त संरचना नछाड्ने अडान राखेपछि विवाद समाधान हुन सकेको छैन ।

टिप्पणीहरू