कुकुर्नीलाई गर्भनिरोधक सुई लगाउने निर्णय स्थगित
मकवानपुरको थाहा नगरपालिका कुकुर्नीलाई तीन महिने सुई लगाउने निर्णयबाट पछि हटेको छ ।
पशु अधिकारवादी संघ संस्थाले यसको विरोध गरेपछि नगरपालिका उक्त निर्णय स्थगित गराउन बाध्य भएको हो ।
नगरपालिकाले गत शुक्रबार कुकुर्नीलाई गर्भनिरोधक सुई लगाउने निर्णय गरेको थियो । कुकुरले अति दुःख दिन थालेपछि नगरपालिकाले १२ वटै वडामा गर्भनिरोधक सुई अभियान चलाएको हो ।
तर, पशु अधिकारवादी संघ संस्थाले नगरपालिकाको निर्णय प्राकृतिक नियमविपरीत भएको भन्दै विरोध जनाएका छन् । उक्त खोपले कुकुर्नीको पाठेघरमा क्यान्सर हुने उल्लेख गर्दै उनीहरुले गलत निर्णय तत्काल फिर्ता लिन माग गरेपछि अभियान स्थगित गर्नुपरेको नगरपालिकाका पशुशाखा प्रमुख राघविन्द्र मिश्रले बताए ।
उनकाअनुसार अब यो अभियान थालिँदैन । नगरपालिकाले आगामी पुसदेखि बन्ध्याकरण गर्ने योजना समेत बनाएको छ ।
पछिल्लो समय नगरपालिकामा कुकुरले वितण्डा मच्चाउन थालेको छ । अन्नबाली नष्ट पारिदिएपछि किसानहरुले कुकुर मार्नुपर्ने माग राख्दै आएका छन् ।
टिप्पणीहरू