युवतीको हत्यापछि पुरुषले आत्महत्या गरेको आशंका

युवतीको हत्यापछि पुरुषले आत्महत्या गरेको आशंका

रुपन्देहीको बुटवलस्थित एक होटलमा पुरुष र युवती मृत फेला परेको घटनामा पुरुषले युवतीको हत्यापछि आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

बुटवल उपमहानगरपालिका–२ स्थित फूलबारीचोकमा रहेको कारिकोट होटलमा हिजो बिहान धादिङको कुमपुर–५ स्थायी घर भएका ३६ वर्षीय सीताराम भुजेल झुण्डिएको अवस्थामा भेटिएका थिए । उनी झुण्डिएकै कोठामा दाङकी २५ वर्षीया युवती पुष्पा बुढाथोकी पनि मृत भेटिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार मृत बुढाथोकी विवाहित युवती हुन् । उनकोे श्रीमान वैदेशिक रोजगारीमा छन् । भुजेल मानव बेचबिखन अपराधमा ७ वर्ष जेल बसेर तीन महिनाअघि मात्र सुुनसरीको झुम्का कारागारबाट छुटेको पाइएको छ ।

दुवैको शव पोष्टमार्टमको निम्ति लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू