हराएको नागरिकता भेट्टाउनेले योसम्मको हर्कत गरे
कसैको हराएको नागरिकता भेट्टाउनेले गम्भीर अपराधसम्म गर्न थालेका छन् । त्यस्तै हर्कत गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरका निरज पाण्डेयको सक्कल नागरिकता प्रमाणपत्र हराएपछि फेला पार्नेले प्रहरीकोमा बुझाउनुको सट्टा पाण्डेयको नाममा कम्पनी खोलिदिए । त्यसबारे कुनै भेउ नपाएका पाण्डे उक्त कम्पनीको मालिक बने ।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाण्डौंमा २७९५९६÷०७८÷०७९ नम्बरको एभरेष्ट लिंक ईन्टनेशनल एजुकेशन प्रा.लि. दर्ता भएको थियो । त्यो काम गत वर्ष मंसिर २८ गते भएको बताइन्छ । त्यसपछि सोही नागरिकताको आधारमा सेञ्चुरी र कुमारी बैंकमा खाता खोलियो । यी सबै काम भएपछि सोही कम्पनीको नामबाट मानिसलाई विदेश पठाइदिने ठगी धन्दा चलाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले रुस पठाउने नाममा ठगी गरेका हुन् ।
आफ्नो नामबाट ठगी भएको थाहा पाएपछि पाण्डेय प्रहरीमा उजुर गर्न गए । पीडितको निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा तीन जना संलग्न रहेको पाइएको हो । उनीहरुले ज्ञानेश्वरस्थित एउटा घरमा अफिस खडा गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनको टोलीले उक्त कार्यमा संलग्न तीनै जनालाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
कम्पनीको सीईओ बनेका भक्तपुर, मध्यपुरथिमीका २८ वर्षे सुरेश भन्ने प्रदिप कर्मचार्य, पाण्डेयको नाममा बैंक खाता खोल्ने मुगुको खत्याड गाउँपालिकाका २४ वर्षे विशाल कार्की र २१ वर्षे रामकृष्ण रावतलाई पक्रेर आवश्यक अनुसन्धान एवं कारवाहीको निम्ति जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
टिप्पणीहरू