एचआईभी संक्रमितलाई मासिक भत्ता
लमजुङको एउटा पालिकाले एचआईभी संक्रमितलाई मासिक भत्ता दिने निर्णय गरेको छ । मस्र्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक एक हजार भत्ता दिने निर्णय गरेको बताइएको छ ।
उनीहरुलाई हौसला दिन र पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताको रूपमा मासिक भत्ता दिने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष जुनामाया थापाले जानकारी दिएकी छन् ।
संक्रमितहरूले भत्ताका लागि निवेदनको साथमा नागरिकताको प्रतिलिपी र एचआइभी संक्रमित पुष्टी भएको कागजात पेश गर्नुपर्ने छ । उपाध्यक्ष थापाका अनुसार गाउँपालिकामा हालसम्म १६ जना एचआईभी संक्रमित छन् । जसमध्ये पाँच जना पुरुष र ११ जना महिला हुन् ।
यसअघि गाउँपालिकाले ६० देखि ६९ वर्ष उमेरका एकल पुरुष र फरक क्षमताका व्यक्तिलाई मासिक पाँच सय भत्ता दिने निर्णय गरेको थियो ।
टिप्पणीहरू