पशु चिकित्सकहरुको बुटवलमा विरोध र्‍याली

पशु चिकित्सकहरुको बुटवलमा विरोध र्‍याली

नेपाल भेटेरिनरी एसोसिएसन, लुम्बिनी प्रदेशले बुटवलमा विरोध र्‍याली निकालेको छ । प्रतिनिधि सभाले अघि बढाएको पशु सेवा परिषद् विधेयकको विरोधमा प्रदर्शन गरिएको हो ।

पशु स्वास्थ्यजस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिने गरी विधेयक पारित गरिएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।आफूले उठाएका विषयलाई नसमेटिकन प्रतिनिधि सभाबाट एकपक्षीय ढंगले विधेयक पारित गरिएको पशु चिकित्सिकहरुको आरोप छ ।

उक्त विधेयक प्रमाणीकरण भएमा पशुपन्छीको शल्यक्रिया, सम्पूर्ण उपचार, पोस्टमार्टमलगायत अन्य कार्य गर्न भेटेरिनरी चिकित्सकको आवश्यकता नपर्ने जनाइएको छ ।

द्वैअर्थी र गोलमटोल शब्दको प्रयोग गरेर विधेयक ल्याइएपछि एसोसिएसनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले आफ्ना जायज माग नजरअन्दाज गरेको उल्लेख गर्दै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा बैठकबाट गत मंगलबार पारित भएको हो ।

टिप्पणीहरू