‘हाम्रो पेशा हाम्रो शान’ भन्दै पशु डाक्टरहरुको हुल बानेश्वरको सडकमा

‘हाम्रो पेशा हाम्रो शान’ भन्दै पशु डाक्टरहरुको हुल बानेश्वरको सडकमा

पशु स्वास्थ्य तथा सेवा परिषद् विधेयकमा त्रुटि भएको भन्दै पशु चिकित्सकहरु विरोधमा उत्रिएका छन् । हालै प्रतिनिधिसभाबाट पारित उक्त विधेयक सच्याउन माग गर्दै उनीहरुले आज राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

नेपाल भेटेरिनरी एशोसिएशन त्रिपुरेश्वर, नेपाल भेटेरिनरी विद्यार्थी संघ र नेपाल भेटेरिनरी विद्यार्थी एशोसिएशन रामपुरको संयुक्त आयोजनामा प्रर्दशनसहित र्याली निकालिएको हो । एशोसिएशनका कार्यवाहक अध्यक्ष कृष्ण काफ्लेको नेतृत्वमा भएको विरोध कार्यक्रममा महासचिव आसेस भट्टराईलगायत झण्डै आठ दर्जनको सहभागिता रहेको छ ।

प्रर्दशनकारीहरुले ‘योग्यता अनुसार जिम्मेवारी देऊ’, ‘अन्धो भयो सरकार चिनेन् प्राविधिक र डाक्टर’, ‘संख्या होइन् योग्यता हेर, पशु चिकित्सकको सम्मान गर’, ‘हाम्रो पेशा हाम्रो शान र प्राण भन्दा प्यारो छ’, ‘विवादित विद्येयक संशोधन गर’ लेखिएका प्लेकार्डसहित चर्को नाराबाजी गरेका छन् ।

माइतीघरबाट निस्किएको र्याली बबरमहल र बिजुलीबजार हुदैं नयाँ बानेश्वरतर्फ लागेको छ । पशु स्वास्थ्य तथा सेवा परिषद् विधेयक गत मंगलबार प्रतिनिधिसभाबाट पारित भएको थियो । द्धैअर्थी र गोलमटोल शब्दको प्रयोग गरेर विद्येयक ल्याइएको भन्दै एशोसिएशनले यसअघि नै चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।

टिप्पणीहरू