माओवादीले अन्तरघातीलाई नछोड्ने
नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई कडा कारबाही गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न गठित कार्यदलले निलम्बन, निष्काशन र चेतावनीसम्मको कारबाही सिफारिस गरेको हो ।
कार्यदलका अध्यक्ष टंक राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रतिवेदन बुझाउँदै छानबिनका क्रममा ५०० जनाभन्दा बढी व्यक्तिसँग अन्तरक्रिया गरि अन्तर्घात गर्नेहरुको तथ्य संकलन गरेको बताए । त्यसैका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइएको उनको भनाइ छ । कार्यदलले अन्तर्घातमा संलग्न उपल्लो तहका नेतामाथि समेत कारबाहीको सिफारिस गरेको बताइएको छ ।
प्रतिवेदन बुझ्दै अध्यक्ष प्रचण्डले अनुशासन तोड्ने अराजकहरुलाई पार्टीमा राखेर समाजवादको लक्ष्य हाँसिल हुन् नसक्ने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो बनाउन अन्तर्घात गर्नेलाई कारवाही गर्ने पनि प्रष्ट पार्नुभयो ।
माओवादी केन्द्रको केन्द्रीय समितिले स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका घात, प्रतिघात र असहयोगबारे अनुसन्धान गरि प्रतिवेदन ल्याउन राईको अध्यक्षतामा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । मुक्ति प्रधान र खिमलाल देवकोटा कार्यदलमा सदस्य छन् ।
टिप्पणीहरू