बिप्लवको बन्द,आफ्नै थोत्रो गाडीमा आगो झोसेर बिमा रकम खाने धन्दा

बिप्लवको बन्द,आफ्नै थोत्रो गाडीमा आगो झोसेर बिमा रकम खाने धन्दा

बिमा रकम पाउने लोभमा बन्दको मौका छोपी मालिकको सहमतिअनुसार चालक र सहचालक आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । उनीहरुले दाङ्ग घोराही लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाएका हुन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत चार कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको मौका छोपी आज बिहान उनीहरुले टिपरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालक अरुण चौधरी र सहचालक आकाश चौधरी आफैँले गाडीमा आगो लगाएर प्रहरीलाई खबर गरेका थिए । बन्दकर्ताहरुले चालक र सहचालक समेतलाई टिप्परबाट झारी आगजनी गरेको सूचना पाएसँगै प्रहरी घटनास्थल पुग्यो । त्यसलगत्तै अनुसन्धान गर्दा उनीहरु नै संलग्न रहेको पुष्टि भएको हो ।

टिप्पर धनी धनेश्वर भण्डारीको सहमतिअनुसार नै बिग्रेको गाडीमा आगजनी गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल तीनै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान शुरु भएको छ ।

टिप्पणीहरू