क्याबिनेटका निर्णय सार्वजनिक,कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
हिजो बसेको क्याबिनेट बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सहरी विकास मन्त्रालयमा गरी ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषिअन्तर्गत २०४ र सहरीतर्फ २८० अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत भएको जानकारी गराउनुभयो ।
साथै, उहाँले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी मन्त्रिपरिषद्बाट २०७८ वैशाख १३ गते भएको निर्णय खारेज गर्न क्याबिनेटले स्वीकृति दिएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको अनुरोधमा युनाइटेड नेशनको मिशनमा सशस्त्र प्रहरी बल,नेपालका १४० जना नफ्रीको फोर्स्ड पुलिस युनिट परिचालन गर्न स्वीकार गरिएको छ ।
त्यस्तै, बेलायतमा आगामी भदौ २२ देखि २४ सम्म हुन लागेको कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई भ्रमण स्वीकृति दिने क्याबिनेटको निर्णय छ ।
राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब,भत्ता,पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलव सुविधा आयोग गठन गर्नेलगायतका निर्णय हिजोको बैठकले गरेको छ ।
टिप्पणीहरू