दुई चिनियाँसहित काम बिगार्ने १० कम्पनी ब्ल्याकलिस्टेड

दुई चिनियाँसहित काम बिगार्ने १० कम्पनी ब्ल्याकलिस्टेड

समयमै काम गर्न नसकेका १० वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबध्दताबमोजिम काम नगर्ने ठेकेदारहरुलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन,२०६३ दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले निश्चित अवधिका निम्ति ती कम्पनीलाई कालोसूचीमा पठाएको छ ।
कालोसूचीमा दुई वटा चिनियाँ कम्पनी पनि परेका छन् ।

चीनको जोङदिङ इन्टरनेशनल इन्जिनियरिङ र च्याङछिङ वाङवियान इलेक्ट्रिक कर्पोरेशन लिमिटेडलाई कार्यालयले तीन–तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्यस्तै,उक्त सूचीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन पनि परेको छ ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर-नगरकोट-सिपाघाट, बालाजु,त्रिशुली-छहरे-विदुर सडक योजना अलपत्र पारेपछि एआईपीएलसँग जेभीमा रहेको शैलुङलाई तीन वर्ष प्रतिबन्ध लगाइएको हो ।

हाल यो कम्पनी शारदाका छोरा अनुप अधिकारीको नाममा छ । बलिया कन्स्ट्रक्सन,जोन्सन कन्स्ट्रक्सन एण्ड सप्लायर्स,जस्ट इन टाइम कन्स्ट्रक्सन,एरिपयल ग्रुप अफ इन्जिनियर्स,सर्जिमेड ड्रिस्टिब्युटर्स र तुम्पेहाङ निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा पठाइएको छ ।

महालक्ष्मी वायर एण्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको कार्यालयले जनाएको छ । उक्त अवधिका लागि यी कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

 

टिप्पणीहरू