सरकार र प्रतिपक्ष भेट,गठबन्धनका अन्य दललाई थ्रेट

सरकार र प्रतिपक्ष भेट,गठबन्धनका अन्य दललाई थ्रेट

सत्तापक्षमाथि कठोर टिप्पणी गर्दै आउनुभएका प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । सत्ता र प्रतिपक्षबीचको महिनौँ लामो संवादहीनता तोड्दै ओली आज बिहान बालुवाटार पुग्नुभएको हो ।

नागरिकता बिधेयक,सत्यनिरुपण बिधेयकलगायतका बिषयमा सरकारले आफूसंग सोधनी नगरेको भन्दै असन्तुष्ट रहनुभएका ओलीले बिहान सवा नौ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो ।

शुरुदेखि नै देउवा नेतृत्वको सरकारलाई ‘परमादेशी सरकार’ भनी खरो आलोचना गर्दै आउनुभएका ओली चुनावको मिति तोकिएलगत्तै सत्तापक्षमाथि थप आक्रामक हुनुहुन्छ । उहाँका प्राय: सबै सार्वजनिक अभिव्यक्तिमा सरकार, प्रधानमन्त्री देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आलोचनाको केन्द्रमा हुनुहुन्छ ।

समकालीन नेताहरुमाथि सार्वजनिकरुपमै गाली गरेर हुर्मत लिने ओली आज बालुवाटार पुग्नुलाई कतिपयले गठबन्धन दलभित्र अविश्वास पैदा गराउने प्रयासका रुपमा हेरेका छन् । एमसीसी अनुमोदनका बेला यस्तै प्रयास गर्नुभएका ओलीले प्रचण्ड, माधवतिर दबाब बढाउने र पार्टीभित्रैका कतिपयलाई तर्साउन पनि आज सुटुक्क बालुवाटार गएको उनीहरुको दावी छ ।

तथापि देउवा-ओली भेटबारे औपचारिक जानकारी आइसकेको छैन ।

टिप्पणीहरू