करिश्मालाई ब्याजसहित थपेर निहारिकाले गरिन् सहयोग फिर्ता
न्यायको लागि निरन्तर लडिरहेकी “कुमारी आमा” निहारिका राजपूतले अभिनेतृ करिश्मा मानन्धरको २० हजार सहयोग रकम फिर्ता गरेकी छन् । आज मानन्धरलाई निवासमै भेटेर उनले रकम फर्काएकी हुन् ।
मानन्धरलाई भेट्न निहारिका गोदावरीस्थित उनकै घर गएकी थिइन् । तर उनी तीजको दर खाने कार्यक्रममा गएको जानकारी पाए पछि करिश्मा भएको ठाउँमै पुगेर निहारिकाले २० हजार सहयोग रकममा एक हजार थपेर फिर्ता गरेकी हुन् ।
बलात्कारपछि जन्मिएको नाबालक छोरो लिएर काठमाडौँमा अनसन बस्दै आएकी निहारिकालाई अनसनस्थलमै पुगेर मानन्धरले २० हजार सहयोग गरेकी थिइन् । मानन्धरले पैसा फिर्ता दिँदा सुरुमा लिन नमाने पनि ‘मेहनतले कमाएको पैसा गलत ठाउँमा जान पाएन’ भन्दै लिएको बताइएको छ ।
पैसा फिर्ता गरेपछि निहारिकाले भनिन, ‘आमा सम्झेर तपाइको सहयोग लिएकी थिए तर मलाई गलत नजरले हेर्नुभयो । म आफ्नो बच्चा आफै पाल्न सक्छु तपाइको सहयोग चाहिँदैन पैसा फिर्ता गरेको छु ।’
अभिनेतृ मानन्धरले सहयोग रकम दिएको केही दिनपछि बलात्कार आरोपित शिवराज श्रेष्ठसँग जोडेर आफ्नो तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै निहारिका आक्रोशित छिन् । उनले आफू मानन्धरविरुद्ध कानुनी बाटो अपनाउने लागेको समेत जानकारी दिइन् । यसैलाई लिएर र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मानन्धरले गल्ती स्विकार्दै माफी मागेर फेसबुकमा राखेको पोस्ट हटाउनु परेको थियो ।
टिप्पणीहरू