कालु पाण्डेको सन्तान भन्दै राष्ट्रपतिको प्रशंसा, नागरिकता विधेयक राष्ट्रियसभामा अड्किने खतरा

कालु पाण्डेको सन्तान भन्दै राष्ट्रपतिको प्रशंसा, नागरिकता विधेयक राष्ट्रियसभामा अड्किने खतरा

नागरिकता विधेयकमा सिंहदरबार र शीतल निवासबीच द्वन्द्व चलिरहेका बेला अस्ति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बहालवाला र पूर्वहाकिमहरुको भेला गरेपछि अनेकथरि आशंका जन्मिएको छ । उक्त भेलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले निकै गम्भीर रुपमा लिएकाले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखबीचको ‘शीतयुद्ध’ थप चर्किने सम्भावना बढेको कतिपयको विश्लेषण छ ।

अस्ति बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो संकेत दिइसक्नु भएको छ । सेनाको भेलाबारे निकै गम्भीर देखिनुभएका उहाँले बैठकमा सबैका सामुन्ने प्रधानसेनापतिलाई बोलाएर स्पष्टिकरण सोध्ने बताउनुभएको थियो । लगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई बालुवाटार बोलाइयो पनि ।

शीतल निवासले सेनाको भेला गरेकैमा असन्तुष्ट हुनुभएका प्रधानमन्त्री सरकार र आफूलाई कमजोर पार्न पूर्व जर्नेलहरुले राष्ट्रपतिलाई उकासेको सूचना पुगेपछि थप आक्रोशित हुनुभएको बताइन्छ । जर्नेलहरुले राष्ट्रियताको सवालमा कसैसंग नझुक्न र कुनै पनि सम्झौता नगर्न सुझाउँदै खुट्टा नकमाउन आग्रह गरेका थिए । नागरिकता विधेयक संसदमै फिर्ता पठाएर राष्ट्रवादी अडान राखेको भन्दै चर्को प्रशंसा गरेका उनीहरुले राष्ट्रपतिलाई ‘कालु पाँडे’ को सन्तान भन्नसमेत भ्याएका थिए । त्यहाँ भएका एक-एक कुरा बालुवाटार पुगेपछि देउवा सैनिक नेतृत्वप्रति असन्तुष्ट बनेको बताइन्छ ।

बालुवाटार स्रोतका अनुसार शीतल निवास पुगेका बहालवाला जर्नेलहरुले सन्तुलित धारणा राखे पनि रिटायर्डहरु भने उग्र थिए । उनीहरुले विधेयक घर्रामा थन्क्याएर राख्नसमेत सुझाव दिएको बताइएको छ ।

पूर्वजर्नेलमध्ये पनि छानीछानी बोलाइएकाले उनीहरुले राष्ट्रपतिलाई संविधान मिच्न उकासेको गठबन्धनका एक नेताको दावी छ । भेलाको संयोजन नाताले कमल थापाका दाइ तर नागरिकताअनुसार भाइ पूर्व तीन तारे जर्नेल नेत्रबहादुर थापाले गरेका हुन् । उनैले फोन गरेर जर्नेलहरुलाई बोलाएका थिए । दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सुरक्षा सल्लाहकार रहेका उनले राष्ट्रवादका नाममा उग्र धारणा राख्नेलाई छानीछानी बोलाएकाले त्यस्तै सुझाव दिएको प्रधानमन्त्रीको बुझाइ छ ।

एमाले अध्यक्ष केपी ओलीको रोडम्यापअनुसार अब नागरिकता विधेयक राष्ट्रियसभामा अल्झिन सक्नेतर्फ पनि गठबन्धनका नेताहरुबीच कुरा चलेको छ । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीलाई निवासमै भेटेर ‘अघि बढ्न’ संकेत दिनुभएका ओली अहिले राष्ट्रपतिको मान नराख्दिएकोमा रुष्ट भएकाले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भनेर केही समय अड्काउन सक्ने उनीहरुको आशंका हो ।

एमालेबाट अध्यक्ष जितेका तिमिल्सिनाले विधेयक समितिमा पठाउने तयारी गरिरहेको बताइन्छ । तर,समितिमा पनि गठबन्धन पक्षधर पार्टीको दुई तिहाइ बहुमत भएकाले तिमिल्सिनाले चाहेअनुसार हुने सम्भावना भने निकै कम छ । कथं कार्यसूचीमा नराखे महाभियोग लगाएर हटाउनेसम्मको रणनीतिमा गठबन्धन पुगेको छ भनिंदैछ । तर, अहिले नै त्यो परिस्थितिको अनुमान नगरिएको जनता समाजवादी पार्टी (जसपा)का एक नेताले बताए ।

टिप्पणीहरू