चीनका प्रधानमन्त्री होइन,सभामुख आउने
चिनियाँ राष्ट्रिय जनकँग्रेस स्थायी समितिका अध्यक्ष नेपाल भ्रमणमा आउन लाग्नुभएको छ । नेपालसँगको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन अध्यक्ष लि चान्सुको यो भ्रमण हुन लागेको बताइएको छ ।
सन् २०१८ देखि जनकँग्रेसको १३ औं स्थायी समिति अध्यक्षमा निर्वाचित लिले नेपालको पहिलो भ्रमण गर्न लाग्नुभएको हो ।
यसअघि चीनबाट उच्चस्तरीय भ्रमण हुन लागेको बताइए पनि विस्तृत विवरण सार्वजनिक गरिएको थिएन । अध्यक्ष लिको भ्रमणबारे पनि नेपाल र चीन दुवै पक्षले औपचारिक जानकारी दिएका छैनन् ।
तीन वर्षअघि चिनियाँ राष्ट्रपति सि जिनपिङले गर्नुभएको नेपालको राजकीय भ्रमणपछि दुवै देशबाट उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेको छ । पछिल्लो पटक दुई साताअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमण गर्नुभएको थियो ।
त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ चिएनचाओ र केही महिनाअघि चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो । दुई वर्षअघि चिनियाँ रक्षामन्त्री वेइ फङ्येले पनि नेपालको केही घण्टाको भ्रमण गर्नुभयो । चिनियाँ सँसदका सर्वोच्च नेताको भ्रमणमा नागरिकका तर्फबाट गर्न सकिने स्वागत-सम्मानवारे हिजो दिउँसो सभामुख अग्नि साप्कोटाले काठमाण्डौका मेयर बालेन साहलाई बोलाएर झण्डै एक घन्टा सल्लाह गर्नुभएको थियो ।
टिप्पणीहरू