अरुलाई मार्ने घुरहुको आफै गोली खाएर मरण
मुलुक सशस्त्र द्वन्द्वबाट मुक्त भएलगत्तै कपिलवस्तुको पूर्वी तराई क्षेत्रमा २ वटा समूह सक्रिय थिए । एउटा जनयुद्धको रापताप सहित आएकाहरुको समूह र अर्को संकटकालमै माओवादी र स्थानीयमाथि आक्रमण तथा लुटपाट गर्ने तत्कालिन प्रतिकार समूह । नसिम खान,प्रितम पाण्डे,श्रवण मुराउ लगायतले नेतृत्व गरेको उक्त समूहले भूमिगत संगठनका नाममा २०६५ देखि २०६७ सालसम्म हत्या,अपहरण,लुटपाट तथा चन्दा आतंक मच्याएका थिए । त्यसै मध्येका हुन् घुरहु भन्ने रामसमुझ पासी । उनले २०६५ सालमा माओवादी
कार्यकर्ता सहित ३ जनाको हत्या, २ ठाउँमा डाँका र ५ स्थानमा चोरी गरेका थिए । उनै घुरहुको शुक्रवार दिउँसो ३ बजे मायादेवी गाउँपालिका ७ महादेवमा गोली हानी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेमबहादुर बस्नेतका अनुसार घुरहुमाथि २ राउण्ड गोली प्रहार भएको छ । स्थानीय वीरेन्द्र चौहानको घरमा लगेर मृतकमाथि गोली हानी हत्या गरिएको र अपराधीको खोजी तथा अनुसन्धान जारी रहेको एसपी बस्नेतले जानकारी दिए । “हामी अनुसन्धानको अन्तिम चरणमा छौं, ३–४ दिन भित्रै टुंगोमा पुग्छौं” उनले भने ।
अपराधी पृष्ठभूमिका घुरहु भन्ने रामसुमझ पासीले २०६५ सालमा पकडी,हरनामपुर, चाकरचौडालगायतका क्षेत्रमा आतंक सिर्जना गरेका थिए । उनले माओवादी कार्यकर्ता ललाउ कुर्मीलाई २०६५ साल साउन १३ गते गोली हानी हत्या गरे यसै गरी कपिलवस्तु नगरपालिका २ स्थित लम्तियामा घुरहु र उनका २ जना छोरा मिलेर स्थानीय सैरुल्लाह मुसलमान र रामप्रसाद कुर्मीको गोली हानी ज्यान लिए ।
२०६५ असोजमा हरनामपुरको नौडिहवाका २ घरमा डाँका तथा लुटपाट गरी फरार भए । यी सबै घटनामा संलग्न घुरहुलाई २०६५ पुस २६ गते भारतबाट पक्राउ गरी ल्याइएको थियो । कपिलवस्तु जिल्ला अदालतले घुरहु पासी, उनका छोरा महेन्द्र र वीरेन्द्र पासीलाई २० बर्ष जेल सजाय तोकेको थियो । घुरहु ४ बर्षअघि मात्रै कैद भुक्तान गरी बाहिर आएका थिए भने उनका २ छोरा अझै कारागारमै छन् । घुरहुका तत्कालिन कमाण्डरहरु नसिम खान,श्रवण मुराउ कारागारमै छन् भने प्रितम पाण्डेले जिल्लाबाट सफाई पाए पनि पुनरावेदन र सर्वोच्चमा मुद्धा खेपिरहेका छन् ।
टिप्पणीहरू