एमाले अध्यक्षको निर्देशन-“पाकेटमारसङ्ग होशियार,फेसबुकबाट गरौं प्रहार”
अस्तिदेखि राजधानीमा शुरु एमाले केन्द्रीय समिति बैठक हिजो हतार हतार सकिएको छ । अस्ति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएजा अध्यक्ष केपी शर्मा ओलीले हिजो थप धारणा राख्नुभएको थियो ।
बैठकको प्रारम्भमा उहाँले आज कुशे औँशी परेकाले बाको मुख हेर्ने दिन हो भन्नुभयो । ‘बाले हामी सबैलाई कुसे औँशीको शुभकामना दिनुभयो,’ एक जना सदस्यले बताए । अध्यक्षले एमालेको बैठक भव्य भएको र समूह छलफल तथा प्रस्तुति निकै राम्रो रहेको चर्चा गर्नुभएको पनि ती सदस्यले बताए ।
यसपटक पार्टीले फरक खालको घोषणा पत्र बनाउने उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘बुलेट राख्छौं । त्यसपछि हामीले गरेका काम लेख्छौं,मनमोहनको पालाका कुराहरु पनि लेख्छौं, हामीले पछिल्लो समय गरेका कामहरुबारे उल्लेख गरेर अगाडि जानेछौँ ।’ उहाँले गठबन्धनको भण्डाफोर गर्ने र सबै क्षेत्रलाई समेटेर घोषणा पत्र बनाउने उद्घोष गर्नुभएको छ ।
अध्यक्षले अहिले टिकटक र फेसबुकको लहर देखिएकाले त्यसलाई अनुगमन गरेर फेसबुकमा पार्टीविरुद्द लेख्नेको धतुरो झारिने चेतावनी दिनुभएको छ । ‘नेकपा एमालेको पक्षमा बोल्नु देशको पक्षमा बोल्नु हो,त्यसो भएर हामी अरुभन्दा फरक छौँ,अन्यथा सहँदैनौं,’ उहाँको भनाइ छ ।
उहाँले मतदाता र अन्य पार्टीका कार्यकर्तालाई एमालेमा ल्याउन नेताहरुलाई पहिले ‘कन्भिन्स’ गर्न र त्यसपछि समर्थक बढाउन निर्देशन दिनुभएको छ । एक जना संगठित सदस्यले कम्तीमा पाँच मत संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । ‘एक पटक ठूलो भीडको जनपरिचालन गर्ने, आमसभा गर्ने हो भने जनपरिचालन स्वतः हुन्छ । हरेक टोलमा संगठन र हरेक घरमा सदस्य बनाएर पार्टी अघि बढ्नुपर्छ,यो काम अनेमसंघले गर्नुपर्छ,’ उहाँको भनाइ थियो । त्यसैगरी १ बुथ सय युथको नारा पनि उहाँले अघि सार्नुभएको छ ।
प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा दिएर पढ्न नभ्याउने कमरेडहरुले त्योभन्दा पहिले प्रतिवेदनलाई मिडियातिर लैजाने खतरा रहेको उहाँको संकेत थियो । चुनावमा हुने गठबन्धनप्रति लक्षित गर्दै भन्नुभयो, ‘देशभक्त शक्ति, लोकतान्त्रिक शक्ति र प्रगतिशील सबै शक्तिलाई एक हुन आह्वान गर्छौँ । तर हामी एकताको नाममा कहिँ पनि नपुग्ने ठाउँमा जाँदैनौं,एकताको पनि आधार हुन्छ ।’
यथार्थसँग मित्रता गर्न र नक्कलीसँग होशियार हुन आग्रह गर्नुभएका अध्यक्षले गठबन्धनको सन्दर्भमा पाकेटमार पाकेटमार जस्तो नदेखिने र नचिनिने भएकाले पाकेटमारसँग होशियार हुनुपर्ने राजनीतिक संकेत दिनुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुप्रति इंगित गर्दै उहाँले गम्भीर प्रश्न उठाउनुभएको छ । गठबन्धनका पक्षमा जसले एमालेविरुद्ध बहस गरे तिनलाई मानपदवी दिइएको तर जो न्याय र विधिका विषयमा उभियो उसलाई महाभियोग लगाइएको उहाँको भनाइ थियो । भन्नुभयो, ‘महाभियोग भ्रष्टाचारविरुद्ध लगाइएको होइन । त्यो बदनियतपूर्ण छ । केही सांसदको भोलिपल्ट पेशी भएको कारण महाभियोग तयार गरेर महाअभियोग लगाइएको हो ।’ उक्त काममा सभामुख सहयोगी बनेको उहाँको भनाइ छ ।
नामै किटेर चोलेन्द्र समशेरलाई न्याय, सुशासन दिनको लागि महाभियोग नलगाइएको उहाँको ठहर छ । गठबन्धनको अपराधिक मनोदशाका कारण महाभियोग लगाइएको उहाँको निश्कर्ष छ । ‘एक जना व्यक्तिलाई भ्रष्टाचारी किटान गरिएको कुरो कतैबाट पनि पुष्टि हुँदैन । अर्कोतर्फ ऋषि कट्टेलका पार्टीको नाम हुँदाहुँदै किन त्यही नाम पहिले दिइयो ?’, उहाँले भन्नुभयो ।
आफूले ४० प्रतिशत सांसदको आधारमा पार्टी विभाजनको अध्यादेश ल्याउँदा संसद छलेको देख्ने अदालत र एमालेविरुद्ध २० प्रतिशतको व्यवस्थामा त्यस्तै कानुन ल्याउँदा प्रकिया पुगेको देख्ने अदालतलाई के भन्ने ? उहाँले प्रतिप्रश्न गर्नुभएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशको महाअभियोग छ महिना घर्रामा हालेर राख्ने सभामुख आँफै षड्यन्त्रमा संलग्न रहेको उहाँको निचोड छ । ‘यो एमालेविरुद्धको षडयन्त्र हो,एमालेविरुद्धको षड्यन्त्र भनेको जनताविरुद्धको षडयन्त्र हो,’ ओलीले भन्नुभयो ।
पार्टी विभाजनलाई उहाँले अलिकति बोक्रो ताछेकोसँग तुलना गर्नुभएको छ । त्यस्तो ताछेको ठाउँमा पलाई हाल्ने र मानिसको कपाल काटेजस्तो केही दिनमा टाउकै छोप्नेगरी झपक्क पलाउने उहाँको दाबी थियो ।
टिप्पणीहरू