विद्यालयका अप्रिय घटनाको जिम्मेवार प्रधानाध्यापक हुने

विद्यालयका अप्रिय घटनाको जिम्मेवार प्रधानाध्यापक हुने

नेपाल विद्यालय कर्मचारी परिषद्ले आह्वानविपरित खुलेका सामुदायिक विद्यालयमा कुनै पनि अप्रिय घटना भएमा त्यसको जिम्मेवार सम्बन्धित प्रधानाध्यापक हुने जनाएको छ ।

विद्यालयका कर्मचारीको आन्दोलनअनुरुप आजबाट एक साताका लागि विद्यालय बन्द नगरेमा त्यसबाट हुने अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित प्रधानाध्यापक हुने चेतावनी परिषद्ले दिएको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालय बन्द गर्ने विषयमा प्रधानाध्यापकहरुबाट असहयोग भएकाले चेतावनी दिएको बताए ।

‘धेरैजसो साथीहरूबाट विद्यालय बन्द गर्ने भन्ने विषयमा प्रधानाध्यपकहरूबाट असहयोग भएको जानकारी आएको छ’, उनले भने, ‘यदि कुनै अप्रिय घटना भए सोको जिम्मेवार सम्बन्धित प्रधानाध्यापक हुने कुरा जानकारी गराउँदछु ।’

आफ्ना माग सम्बोधन नभएको उल्लेख गर्दै विद्यालयका कर्मचारीहरु धेरै दिनदेखि आन्दोलित छन् ।

उनीहरुले पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्न, सहायक लेखापालको तलब ३६ हजार ७३० र सहयोगीको २६ हजार २१० कायम गर्न, संघीय शिक्षा ऐन, २०२८ को संशोधनको व्यवस्था मिलाउन र ६० वर्ष उमेर हदका कारण अवकाश दिइएका विद्यालय कर्मचारीका लागि तत्काल कार्यविधिमार्फत् सम्पूर्ण सेवा सुविधाको प्रबन्ध मिलाउनलगायतका माग राखेका छन् ।

यता, नेपाल शिक्षक महासंघ, लुम्बिनी प्रदेशले पनि आज विज्ञप्ति जारी गरेर आन्दोलन सफल बनाउन सहयोग गरिदिन सबै प्रधानाध्यापकसँग अपिल गरेको छ ।

परिषद्को आन्दोलनमा ऐक्यबद्धता जनाई आन्दोलन सफल परिदिन महासंघले भनेको छ ।

टिप्पणीहरू