स्कुलका कर्मचारीलाई मन्त्रालयमा बोलाइयो

स्कुलका कर्मचारीलाई मन्त्रालयमा बोलाइयो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई छलफलमा बोलाएको छ । विगत केही दिनदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको परिषद्लाई मन्त्रालयले आज पत्र पठाएर वार्ताका लागि बोलाएको हो ।

परिषदले ज्ञापनपत्रमा उठाएका मागहरुको विषयमा नेपाल शिक्षक महासंघमार्फत छलफल तथा वार्तामा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ । साथै, विद्यालय बन्दका कार्यक्रमहरु स्थगित गरी दैनिक पठनपाठन सहज हुने वातावरण बनाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ,‘यसैक्रममा ज्ञापनपत्रमा उठाएका मागहरुको विषयमा नेपाल शिक्षक महासंघमार्फत छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रमहरु स्थगित गरी विद्यालयका दैनिक पठनपाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालय अनुरोध गर्दछ ।’

विद्यालय कर्मचारीहरुको सेवासुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाइएको छ । नेपाल शिक्षक महासंघबीच भएको सहमतिसंग सम्बन्धित कार्यसूचीमा समावेश गरिएका समस्याका समाधान खोज्ने प्रयास जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

विद्यालयका कर्मचारीहरु विगत केही दिनदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुले आजबाट एक साताका लागि मुलुकभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

टिप्पणीहरू