सीट भाग लाउन कार्यदलमा गाँठो परेपछि प्रधानमन्त्री र माओवादी अध्यक्षबीच गम्भीर वार्ता

सीट भाग लाउन कार्यदलमा गाँठो परेपछि प्रधानमन्त्री र माओवादी अध्यक्षबीच गम्भीर वार्ता

सत्तारुढ दलका शीर्ष नेताहरुद्वारा गठित कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि शीर्ष नेताहरु भेटघाटमा जुटेका छन् । आगामी निर्वाचनको निम्ति सीट बाँडफाँडको मुख्य जिम्मेवारी र दायित्व दिइएको कार्यदलले उक्त विषय हिजोसम्म पनि टुंगो लगाउन सकेको छैन । यही सन्दर्भमा हिजो प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच बिहान १० बजेदेखि एक घण्टा बढी समयसम्म एक्लाएक्लै कुराकानी भएको थियो । यसअघि उहाँहरुबीच पटक पटक छुट्टै भेटवार्ता भए पनि निश्कर्ष निस्किएको छैन ।

नेपाली काँग्रेसका नेताहरुले कम्तिमा एक सय सिट आफैलाई हुनुपर्ने अडान लिएपछि कार्यदलको बैठक अनिर्णित बन्दै आएको छ । माओवादीले पनि ५५ देखि ६० सीटको माग गरेको छ ।

डा.शेखर कोइराला समूहले काँग्रेसले एक सय सीटभन्दा कममा सहमति गरे आफूहरुले विद्रोह गर्ने चेतावनी दिएपछि संस्थापन पक्ष अप्ठेरोमा परेको छ । उता अध्यक्ष प्रचण्डले काँग्रेसले आफ्नो अडान नत्यागे वाममोर्चा गठनको ढोका खुल्ला रहेको चेतावनी दिइसक्नुभएको छ ।

टिप्पणीहरू