भोट माग्न जाँदा हुल लिएर जान नपाइने
निर्वाचन आयोगले आगामी निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले २५ जनाभन्दा बढीको हुल लिएर हिँड्न नपाउने जनाएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको निम्ति आयोगले सार्वजजिक गरेको आचारसंहितामा उक्त कुरा उल्लेख छ ।
हिजो देखि लागु हुने गरी राजपत्रमा प्रकाशित गरिएको आचारसंहितामा उम्मेदवारहरूले २५ जनाभन्दा बढी समूह बनाएर कार्यक्रम गर्न नपाइने उल्लेख छ । आयोगले मनोनयन पत्र पेश गर्न जाँदा वा घरदैलो कार्यक्रममा जाँदा उक्त संख्याभन्दा बढीको जुलुस लिएर जान नपाइने भनेको हो ।
आमसभा, कोणसभा, जुलुस अथवा घरदैलो कार्यक्रम गर्ने क्रममा आयोगले आचारसंहितामा तोकेको आकारका १० वटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न पाइने बताएको छ । राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटा मात्रै तुल वा फ्लेक्स राख्न पाइने नयाँ व्यवस्था गरिएको छ ।
पहिलेझैँ बाजागाजा, झाँकी जुलुस गरेर कार्यक्रम गर्न नपाइने आयोगको आचारसंहितमा उल्लेख छ । उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, डिजिटल बोर्ड वा फ्लेक्स राख्न पाउने छैनन् ।
त्यस्तै संघीय सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूले आफू उठेको निर्वाचन क्षेत्रमा बाहेक अन्यत्र गएर चुनावी प्रचार गर्न नपाउने भएका छन् । चुनाव प्रचार गर्दा सरकारी गाडीलगायतका स्रोत साधनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
टिप्पणीहरू