त्रिविको नेतृत्व असफल भएको प्राध्यापकहरुको ठहर

त्रिविको नेतृत्व असफल भएको प्राध्यापकहरुको ठहर

त्रिभुवन विश्वविद्यालय सुधारका लागि सरकार एवम् त्रिविलाई बुझाएको ३३ बुदेँ मागप्रति नजरअन्दाज गरिएको भन्दै प्रजातान्त्रिक प्राध्यापक संघले आपत्ति जनाएको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न बारम्बार वक्तव्यबाजी गर्ने तर शैक्षिक सुधारमा सिन्को नभाँच्ने कार्यले त्रिविका पदाधिकारीहरु पूर्णरुपमा असफल प्रमाणित भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालय सभाले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने, परीक्षालाई व्यवस्थित गर्नुपर्ने, केही महिनाअघि भएका परीक्षाका लापरबाहीको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, व्यवस्थापन संकायको परीक्षाको लापरबाहीको स्वतन्त्र छानबिन समिति गठन हुनुपर्नेजस्ता ज्वलन्त समस्या समाधान गर्न त्रिवि नेतृत्व असफल भएको छ ।’

पदाधिकारीहरुको अदूरदर्शिता र असक्षमताका कारण शैक्षिक संस्थामा मुठभेडको अवस्था सिर्जना भएको संघको आरोप छ । साथै, परीक्षाजस्तो संवेदनशील विषयमा भएको गल्तीलाई ढाकछोप गर्न र दोषीलाई उन्मुक्ति दिने पदाधिकारीको क्रियाकलाप निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । संघले त्रिविलाई आफ्नै लयमा अघि बढाउने वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ ।

टिप्पणीहरू