रसुवामा पनि माधवका उम्मेदवार फाइनल
पाँचदलीय गठबन्धनका साथ चुनावमा जाने निर्णय गरेको सत्तारुढ दल एकीकृत समाजवादीले उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया थालेको छ । गठबन्धनमा सिट भागबण्डा टुंगो नलाग्दै सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरिरहेको समाजवादीले हिमाली जिल्ला रसुवामा पनि उम्मेदवार छनोट गरेको छ ।
उम्मेवार सिफारिससम्बन्धी केन्द्रीय सचिवालयले तय गरेको मापदण्डमा टेकेर आइतबार बसेको जिल्ला सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको हो । जसअनुसार प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ एक महिलासहित तीन-तीन जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ जिल्ला कमिटी सचिव शिव लामिछाने, सचिवालय सदस्य रामशरण न्यौपाने र अम्बिका अधिकारीको नाम सिफारिस भएको सो पार्टीका एक जिल्ला नेताले जानकारी दिए ।
त्यस्तै,प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ साङ्ग्तेम्पा तामाङ, भरत बगाले र कमला लामिछानेको नाम सिफारिसमा परेको छ । प्रदेशको प्रत्यक्षतर्फ (क) मा जिल्ला अध्यक्ष विष्णु देवकोटा र नेता भीम तामाङ तथा (ख) मा सुजय लामा र रामप्रसाद न्यौपाने सिफारिस भएका छन् । प्रदेश समानुपातिकतर्फ जनजातिबाट दावा तामाङ र महिलाबाट गङ्गा विश्वकर्माको नाम सिफारिस भएको एकीकृत समाजवादी रसुवाले जनाएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिसमा परेका शिव लामिछाने राजनीतिका साथै चिनिएका पर्यटन व्यवसायी पनि हुन् । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेका उनी स्थानीयस्तरमा लोकप्रिय छन् । त्यस्तै, २०५२ सालदेखि कम्युनिष्ट आन्दोलनमा जोडिएका रामशरणसँग एमाले हुँदै एकीकृत समाजवादीको विभिन्न सांगठनिक जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको अनुभव छ । तल्लो तहबाट राजनीति गरेका उनी विशेष गरी युवामाझ लोकप्रिय छन् ।
गठबन्धनमा रसुवा समाजवादीको भागमा परे पार्टीले आफूलाई टिकट दिने न्यौपानेको विश्वास छ । एक्लै लड्दा पनि आफू बलियो रहेको उनले जिकिर गरे ।
प्रदेश (ख) मा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गर्न लागेका रामप्रसाद राजनीति तथा सामाजिक क्षेत्रमा विगतदेखि नै सक्रिय रहँदै आएका छन् । पार्टीले चुनावी महोल अनुसार आफूलाई अघि सार्ने विश्वास गर्दै उनले गठबन्धनमा पनि प्रदेश (ख)मा आफूहरुको सशक्त दावेदारी रहेको बताए ।
त्यस्तै,प्रदेश (क) का लागि सिफारिस भएका जिल्ला अध्यक्ष देवकोटा शालीन र ईमान्दार नेताका रुपमा चिनिएका छन् । पर्यटन व्यवसायी भीम युवा संघमा आवद्व छन् । प्रदेश (ख) मा उम्मेदवार सिफारिस सुजय अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य र जिल्ला कमिटी उप-सचिव हुन् । तुलनात्मक रुपमा समाजवादीको संगठन कमजोर रहेको रसुवामा पार्टीलाई स्थापित गर्न उनको महत्वपूर्ण भूमिका रहेको नेता-कार्यकर्ता बताउँछन् ।
टिप्पणीहरू