गोकर्णेश्वरमा डोजर चलाउन रोक
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले एक्साभेटर र डोजर चलाउन रोक लगाएको छ । जमिन सम्याउने भन्दै जथाभाबी डोजर चलाउँदा पहिरो गएको गुनासो बढेपछि यस्तो निर्णय गरिएको नगर प्रमुख दिपककुमार रिसालले बताए ।
उनले अनुमति बिना जेसिबि, एक्साभेटर र डोजरलगायत मेसिन सञ्चालन गर्न नदिने उल्लेख गरे । नगरपालिका क्षेत्रभित्रका कतिपय व्यक्तिहरुले जथाभावी डोजर सञ्चालन गरेर जमिन सम्याउने, मिलाउने काम गर्नाले पहिरो जाने गरेको मेयर रिसालको भनाइ छ ।
सोही कारण सँधियारको जग्गा, भवन र पर्खाल लगायतका संरचनामा क्षति पुगेको भन्दै व्यापक गुनासो आएको बताउँदै उनले भने, ‘जग्गा वा सार्वजनिकलगायत कुनै पनि स्थानमा जेसिबि, एक्साभेटर र डोजरलगायत मेसिन सञ्चालन गरी जमिन सम्याउने मिलाउनेलगायतको काम गर्नुपर्ने भएमा अनिवार्य रुपमा यस नगरपालिकाका नगर प्रमुख वा सम्बन्धित वडाको वडाध्यक्षको अनिवार्यरुपमा अनुमति लिनुपर्ने छ ।’
मेयर रिसालले अनुमतिबिना कोही कसैले कुनै पनि स्थानमा डोजरलगायत मेसिन सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
टिप्पणीहरू