चुनाव चिह्न सुन्दै चाखलाग्दो

चुनाव चिह्न सुन्दै चाखलाग्दो

स्थानीय तहको बेलामा झैँ अबको निर्वाचनमा मतदाताले नाङ्लो आकारको मतपत्र झेल्नु पर्ने छैन । तर, चुनाव चिह्न भने तलमाथि हुने भएको छ । स्थानीय निर्वाचनको मतपत्रमा ६ वटा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका आधारमा चुनाव चिह्नको क्रम निर्धारण गरिएको थियो । अब त्यस्तो हुँदैन ।

२०७४ को निर्वाचनमा प्राप्त समानुपातिक मततर्फ जो बढी छ, त्यसक्रमलाई आधार मानेर चिह्न राखिने भएको छ । यस्तो हुँदा १ मा एमालेको सूर्य, २ मा कांग्रेसको रुख, ३ मा माओवादीको हँसिया–हथौडा, ४ मा जसपाको ढल्केको छाता, ५ मा राप्रपाको हलो, ६ मा जनमोर्चाको गिलास, ७ मा नेमकिपाको मादल, ८ मा लोसपाको साइकल, ९ मा एकीकृत समाजवादीको कलम, १० मा जनमत पार्टीको हर्न चिह्न रहने भएको छ ।

पहिलो नाम दर्ताले प्राथमिकता पाउने भनौं भने कोही नउठ्दै झिसमिसेमै बहादुर भवन पुगेको सिके राउतको पार्टी हुत्तिएर १० मा पुगेको छ । यसपछि क्रमशः मौलिक जरोकिलो पार्टीको किबोर्डसहितको कम्प्युटर हुँदै कमल थापा नेतृत्वको राप्रपा नेपाल २४ औँ नम्बरमा पर्ने भएको छ ।

तर, गत हप्ता सर्वोच्च अदालतबाट न्यायाधीश सपना मल्ल प्रधानको बेञ्चले कमल थापाको चुनाव चिह्न तीरको प्रयोगमा रोक लगाएपछि उसको चुनाव चिह्न के हुने भन्ने कुराको टुंगो लागिसकेको छैन । चुनाव चिह्नको रमाइलो के छ भने अघिल्लो निर्वाचनसम्म तराजु चिह्नमा भाग लिँदै आएको नेपाल विवेकशील पार्टीले तराजु छोडेर यसचोटि पाएको चिह्न हो, कुकुरको टाउको ।

यसरी स्थानीय चुनावको मतपत्र ८६/८७ लहरमा आएकोमा अब २५ लहरभन्दा बढीको हुँदैन । किनभने, स्थानीय निर्वाचनमा एउटै दलको चिह्न एउटा मतपत्रमा सात वटासम्म राख्नुपर्ने थियो । अब भने दल संख्या उत्तिकै हुन्छ, तर जुन राजनीतिक दलले जहाँ–जहाँ उम्मेदवारी दिँदैन, त्यहाँ उसको चुनाव चिह्न प्रकाशित गरिने छैन ।

तर, स्थानीय निर्वाचनमा भए जतिका दलको चुनाव चिह्न राखियो, स्वतन्त्रले पाएको चिह्नसमेत सबैतिर पुगेका मतपत्रमा प्रकाशित भयो । अबचाहिँ पाँच–सातवटा दलबीच गठबन्धन पनि भएका कारण चुनाव चिह्न घट्ने भएको हो । उदाहरणका लागि, काठमाडौंको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले उम्मेदवारी दियो भने त्यहाँ माओवादी, जसपा, ए.समाजवादी र जनमोर्चाको चुनाव चिह्नबिनाकै मतपत्र पुग्छ । तर, समानुपातिकतर्फको मतपत्रमा सबै दलको चिह्न अंकित हुने भएको छ । कहाँ–कहाँ, कुन–कुन चुनाव चिह्न रहने वा नरहने भन्ने कुरा मनोनयन दर्ता (असोज २३ गते) पछि थाहा हुन्छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछिमात्रै निर्वाचन आयोगले मतपत्र छपाइ गर्ने भएको छ ।

उता, वामपन्थी नेता वामदेव गौतमको एकता अभियान नामक दलले आफ्नै चुनाव चिह्नमा भाग नलिने निश्चित गरेको छ । उहाँ आफैँले ‘तयारी नभएको, तयारी गर्ने समय पनि नभएको र अर्को पार्टीसँग मिलेर लड्ने मेरो इच्छा भएको हुँदा…’ भन्दै निर्वाचन आयोगलाई लेखेर दिनुभएको छ । उहाँले आफ्नो इच्छाबमोजिमको पार्टी (माओवादी केन्द्र) दर्ता भएको हुँदा ‘मेरो दल खारेज गरिपाऊँ’ भनेर निवेदन दिनुभएको निर्वाचन आयोगस्रोतले जनाएको छ ।

पहिला माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले निर्वाचन ऐनको दफा ४९ बमोजिम एउटै चिह्नमा भाग लिने गरी कागजात पेश गरिसकेका छन् । त्यसमा वामदेवको पार्टीलाई सामेल गरिएन । अब उहाँलाई माओवादीले आफ्नो पार्टी सदस्यलाई झैँ चुनाव चिह्नमा भाग लिन पाउने गरी टिकट दियो भने बल्ल त्यो चिह्नमा सहभागी हुनुहुने छ । नत्र, जुन चुनाव चिह्नमा भाग लिए पनि स्वतन्त्रको हैसियत हुने भयो । उहाँसँग अब कानुनी बन्धन भएन, व्यावहारिक र बाध्यात्मक बन्धनमात्रै बाँकी रह्यो ।

टिप्पणीहरू