सोह्रश्राध्द शुरु नहुँदै हवाइ भाडा अचाक्ली,सरकार बेखबर

सोह्रश्राध्द शुरु नहुँदै हवाइ भाडा अचाक्ली,सरकार बेखबर

नेपालीहरुको महान चाड दशैं नआउँदै विमान कम्पनीहरुले मनोमानी भाडा तोक्न थालेको पाइएको छ । दशैंका लागि टिकट लिन पुगेका यात्रुले मनोमानी भाडा तोकेको गुनासो गरेका छन् । नयाँ भाडादरअनुसार यात्रुले अहिलेको भन्दा तेब्बर बढी भाडा दशैंमा तिर्नुपर्ने भएको छ ।

अस्ति बिहान दशैंका लागि बुध्द एयरको टिकट बुझ्न पुगेका गोविन्द पोखरेल एकछिन अलमल्ल परे । भाडादर सुनेर एक छिन झसङ्ग भए । काठमाडौंबाट विराटनगर जाने भाडा १० हजार २०५ रुपैयाँ भनिएपछि उनी आश्चर्यचकित बनेका हुन् ।

उनले ट्राभल एजेन्सीका कर्मचारीसँग प्रचलित भाडा दरमा केही गल्ती भएको आशंका गरे । नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि मात्र दशैंलक्षित भाडा निर्धारण गरेर पठाएको एजेण्टको भनाइ छ । यो त सोझै जनता ठग्ने काम भएन र ? भन्दै पोखरेल त्यहाँबाट निस्किएका थिए ।

हाल काठमाडौंबाट विराटनगरको भाडा चार हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । तर, यात्रुले दशैंमा त्यसको दोब्बर बढी तिर्नुपर्ने भएको छ । यात्रुको वर्षभरको कमाइ विमान कम्पनीहरुले दशैंमा असुल्न खोजेको उनीहरुको आरोप छ ।

दशैंको मौका छोपेर हवाई भाडा बढाउन अहिलेदेखि नै प्रपञ्च रचिएको हो-उनले भने । अहिले काठमाडौंबाट विराटनगर चार हजार पाँच सय तिरे पुग्ने भएपनि आगामी अक्टोबर १ गते बिहान बुध्द एयरलायन्सको फ्लाइटबाट विराटनगर जाने यात्रुले १० हजार दुई सय पाँच रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यति एयरलाइन्सले सोही दिन सोही समयका लागि नौ हजार ८७ रुपैयाँ शुल्क तोकेको छ । दोहोरो आउजाउ गर्दा यात्रु थप मर्कामा पर्ने देखिन्छन् । दशैंको मुखमा मनलाग्दी भाडा बढाउन खोजेको यात्रुहरुको गुनासो छ ।

४० मीनेट यात्रा गर्न यात्रुले पाँच हजार सात सय पाँच रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । यता, यति एयरलाइन्सबाट यात्रा गर्दा चार हजार पाँच सय ८७ रुपैयाँ बढी तिर्नुपर्छ । आउजाउ गर्न पुग्ने खर्च एकै पटकमा सकिने भएपछि यात्रुहरु मारमा पर्ने निश्चित छ । जुम्ला,हुम्लालगायत स्थलमार्गबाट जान समय लाग्ने दुर्गम जिल्लाका जनतालाई हवाई भाडाले थप रुवाउने निश्चित छ ।

दशैंमा राजधानी तथा शहरबाट घर फर्किने धेरै हुने भएकाले पनि भाडा अरु बेलाभन्दा कम हुनुपर्ने हो । तर, चाडबाडकै बेलामा भाडा ह्वात्तै बढाएर यात्रुलाई सास्ती दिने काम हुँदा पनि सरकार मुकदर्शक भएर बसेको सर्वसाधारण बताउँछन् ।

निजी एयरलाइन्सले मनोमानी ढंगले रकम असुल्न खोजेको भन्दै यात्रुहरुले आक्रोश पोखेका छन् । दशैंमा झन् सर्वसुलभ र सुविस्ता दिनुको साटो दोब्बर भाडा बढाइएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । यता, बुध्द एयरलाइन्सका मिडिया फोकल पर्सन दिपेन्द्र कर्णले सरकारले पठाएको सूचीअनुसार नै भाडा निर्धारण गरिएको दाबी गरे ।

उनले भने, ‘हामीले आफ्नो तरिकाले भाडा बढाउन मिल्दैन । सरकारले जस्तो सूची पठाएको छ, त्यहीअनुसार राखिएको हो ।’ दशैंमा काठमाडौंबाट जानेको लर्को लाग्ने र अन्य जिल्लाबाट आउने शून्यझैं हुने भएकाले भाडा महँगो हुने उनको भनाइ छ ।

यता,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुध्दिसागर लामिछानेले यस विषयमा कुनै छलफल नभएको बताए । ‘मन्त्रालयमा भाडा बढाउने विषयमा कुनै छलफल भएको छैन’, उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणमा भएको होला ।’ हवाई भाडा माग र आपूर्तिमा आधारित हुने बताउँदै उनले दशैंमा यात्रुको चाप बढ्ने भएकाले पनि प्राधिकरणले भाडा बढाएको हुनसक्ने अनुमान लगाएका छन् ।

त्यस्तै, प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आफू यस विषयमा अनभिज्ञ रहेको जनाए । प्रश्न उठेको छ, ‘सरकार र नियमनकारी निकायलाई नै भाडाको विषयमा जानकारी छैन भने एयरलायन्सले अहिले नै कसरी भाडा तोके ?’

टिप्पणीहरू