कैदी, निलम्बित सांसद सबै चुनावमा सिफारिस
आगामी निर्वाचनको निम्ति कैद सजाय भुक्तान गरिरहेका र विभिन्न अभियोगमा सांसद पदबाट निलम्बितलाई राजनीतिक दलका समितिहरुले उम्मेदवार सिफारिस गरेका छन् । सोही क्रममा भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित नेपाली काँग्रेसका विजय गच्छदार र जेलमा रहेका मोहम्मद अफताब आलमलाई सम्बन्धित जिल्लाका समितिले सिफारिस गरेका हुन् ।
नेपाली काँग्रेसको स्थानीय क्षेत्री समितिले सुनसरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको लागि गच्छदार उम्मेदवार सिफारिसमा परेका हुन् । हिजो बसेको सुनसरी क्षेत्र नम्बर–३ को बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।
उनी बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका थिए । गच्छदारको सांसद पद केही समयदेअि निलम्बनको अवस्थामा छ । उनी सोही क्षेत्रबाट यसअघि छ पटक निर्वाचित भइसकेका छन् । छ पटक सांसद बन्न सफल भएका उनी यस अवधिमा १८ पटक मन्त्री बनिसकेका छन् ।
ललिता निवासको सरकारी जग्गा बिक्री प्रकरणमा अनियमितता गरेको आरोपमा मुद्दा चलेपछि फरार भएका गच्छदार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ असार २८ गते विशेष अदालतमा हाजिर भएका थिए । उनी सोही दिन १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
उता रौतहटबाट पनि मोहम्मद अफ्ताब आलमलाई उम्मेदवार सिफारिस गरिएको छ । उनले जिउँदा मानिसलाई इँटा भट्टाको आगोमा हालेर जलाएका थिए । सोही आरोपमा अदालतको आदेशपछि उनी नख्खु जेलमा छन् ।
टिप्पणीहरू