थारु समुदायले अभावको गीत गाउने होइन : मन्त्री चौधरी

थारु समुदायले अभावको गीत गाउने होइन : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने बताउनुभएको छ । राजधानीको बौद्धमा आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘हामीले जहिले पनि दुःखका कुरा गर्यौं । अभावका कुरा गर्याैं । मादक पदार्थ खाएर आफु बिग्रिएका कुरा गर्यौं । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के मादक पदार्थ अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो, हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’

राजनीति बदल्ने हरेक आन्दोलनमा झापादेखि कन्चनपुरसम्मका थारुहरुले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्नेबेला भएको मन्त्री चौधरीको भनाइ छ ।‘२०४६ साल पछाडि राजनीति बदलिएको छ । थारुहरु अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहँदा सबैले मायाँ गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउने अभियानमा थारुहरु थप सक्रिय हुनैपर्छ,’ मन्त्री चौधरीले भन्नुभयो ।

२०६२÷६३ मा मुलुक विखण्डन गर्ने अभियानविरुद्ध थारु समुदायले प्रतिरोध गरेको बताउँदै मन्त्री चौधरीले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दाबी गर्नुभयो । हिम्मत र संघर्षबाटै अब्रहाम लिंकन, अरुणीमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उहाँले बहिस्कृत मान्छेहरु नै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

हिजो आयोजित कार्यक्रममा एसइईमा विशिष्ट क्षेणी ल्याउने थारु समुदायका दुई दर्जन विद्यार्थीलाई सम्मान गरिएको थियो ।

टिप्पणीहरू