भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी प्रदान गरिँदै, भोलि साँझ पशुपतिनाथ र पर्सि बिहान मुक्तिनाथको दर्शन

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी प्रदान गरिँदै, भोलि साँझ पशुपतिनाथ र पर्सि बिहान मुक्तिनाथको दर्शन

नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई आज अपरान्ह शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधी प्रदान गर्दै हुनुहुन्छ ।

उहाँले भोलि साँझ पशुपतिनाथको दर्शन गर्ने हुनुभएको छ । पाँच दिने भ्रमणका क्रममा पाण्डेले भोलि बिहान माउन्टेन फ्लाइट गरेपछि शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम राखिएको छ ।

भोलि नै उहाँले दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने बताइएको छ । उहाँ पर्सि बिहान मुक्तिनाथ दर्शनको लागि मुस्ताङ जाने कार्यक्रम छ । सोही क्रममा पोखरास्थित मध्य कमाण्ड हेटक्वार्टरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काठमाडौं फर्केपछि वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ ।आज बिहान उहाँले सैनिक मुख्यालयमा प्रधानसेनापति प्रभुराम शर्मासँग औपचारिक भेटघाट गर्नुभएको छ । त्यसअघि उहाँलाइ जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उहाँले सैनिक मुख्यालयमा वृक्षारोपण समेत गर्नुभएको छ ।त्यसअघि टुँडिखेलमा वीर स्मारकमा पुष्पहार चढाउनुभएको बताइन्छ । सैनिक मुख्यालयमा उहाँले नेपाली सेनालाई उपलब्ध गराइएका सैन्य सवारी साधन र सहयोग हस्तान्तरण गर्नुभएको छ ।

उहाँ बिहीबार लैनचौरस्थित भारतीय राजदूतावासको भ्रमण गरेर दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू