संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्रीको चेतावनी
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । आज हेटौँडामा आयोजित संघीयता सवलीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले संघीय सरकारविरुद्ध केही दिनभित्रै मुद्दा हाल्ने बताउनुभएको छ ।
मुख्यमन्त्री पाण्डेले संघीय संसद राष्ट्रिय सभाबाट हालै पारित नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको आरोप लगाउनुभएको छ । उहाँले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ समेत संघीयता विरोध रहेको दाबी गर्नुभएको छ ।
संघियताविरुद्ध हुनेगरी दुई वटा विधेयक पारित गरिएको भन्दै मुख्यमन्त्री पाण्डेले गम्भीर आरोप लगाउनुभएको छ । विधेयकमा काठमाडौँ उपत्यका र यातायातको जिम्मा संघीय सरकारलाई दिने उल्लेख गरेको भन्दै उहाँले त्यसप्रति आपत्ति जनाउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई तत्काल हस्तान्तरण गर्नुपर्ने २९ वटा अधिकार अझै हस्तान्तरण नगरिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गुनासो पोख्नुभएको छ ।
टिप्पणीहरू