हनुमानढोका–स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्ने पर्यटनमन्त्रीको भनाइ

हनुमानढोका–स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्ने पर्यटनमन्त्रीको भनाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताउनुभएको छ ।

काठमाडौंमा हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले हनुमानढोका–स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा वाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लव संयोग रहेको दाबी गर्नुभयो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाका साथै पदमार्गमा पर्ने मठ मन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

पदमार्गअन्तर्गतका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवम् हिन्दु धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने प्रतिष्ठानले बताएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरेको हो । पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका ३० स्थानीय युवालाई तालिममा सहभागी गराइएको थियो ।

मन्त्री श्रेष्ठले आफ्नो ७३ बुँदे कार्ययोजनामा स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालनको विषय समेट्नुभएको छ ।

टिप्पणीहरू