हलगोरु पाल्नेलाई १० हजार अनुदान

हलगोरु पाल्नेलाई १० हजार अनुदान

तनहुँको एक स्थानीय तहले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ । हाते ट्याक्टरको प्रयोग बढेको भन्दै म्याग्दे गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिन लागेको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने निर्णय गरिएको बताए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क संकलन गर्ने योजनासमेत बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले कृषि औंजारमा ५० प्रतिशत अनुदान दिने गरेको उनले उल्लेख गरे ।

’हामीले हाते ट्याक्टर किन्ने किसानलाई ५० प्रतिशत अनुदान दिने गरेका छौँ । त्यसमा मात्र अनुदान दिएर गोरु पाल्ने किसानलाई प्रभावित गर्न खोजे जस्तो भयो’, उनले भने, ’त्यसैले उहाँहरुको प्रोत्साहनका लागि हामीले १० हजार अनुदान दिने निर्णय गरेका छौँ । त्यसको निम्ति पालिकाभित्रका किसानहरुको तथ्याङ्क संकलन गर्ने योजना बनाएका छौँ ।’

गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई समेत प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन अनुदान दिन लागिएको अध्यक्ष श्रेष्ठले बताए । त्यसको निम्ति दुध बेचेको प्रमाण गाउँपालिकामा रहेको सहकारीलाई जानकारी दिनुपर्ने उनको भनाइ छ ।

टिप्पणीहरू