रक्सी पिएर एम्बुलेन्स कुदाउनेमाथि मुद्दा दर्ता

रक्सी पिएर एम्बुलेन्स कुदाउनेमाथि मुद्दा दर्ता

मदिरा सेवन गरेर एम्बुलेन्स र ट्याक्सी चलाउने दुई जना चालकविरुद्ध मुद्दा चलाइने भएको छ । रक्सीको नशामा गाडी चलाइरहेको अवस्थामा समातिएका दुबै चालकलाई अभद्र व्यवहारको कसूरमा प्रहरीले मुद्दा दर्ता गर्न लागेको बताइन्छ ।

ट्राफिक प्रहरीले हिजोराति राजधानीका विभिन्न स्थानमा गरेको रात्रीकालीन चेकिङमा पक्राउ परेका बा. २ ज ४६५९ नम्बरको ट्याक्सी चालक नुवाकोटको बेलगढी नगरपालिका–५ का रञ्जन अधिकारी र प्रदेश २–०२–००१च ०१ ८१ नम्बरको एम्बुलेन्स चालक धनुषाको ढल्केवरका ३५ बर्षीय कमलबहादुर श्रेष्ठ हुन् ।

मदिरा सेवन गरेको पाइएकाले अधिकारीलाई ट्याक्सीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भुमा बुझाइएको ट्राफिक प्रहरीले बताएको छ । एम्बुलेन्स चालक श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

दुबै चालकलाई सम्बन्धित वृत्तहरूले अभद्र व्यवहारको कसूरमा मुद्दा दायर गर्न म्याद थपका लागि जिल्ला अदालत पठाएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू