यता बढ्ने कति, उता बाहिरिने कति
पाँच वर्षपछि हुने चुनावमा ३६ लाख नयाँ मतदाता थपिएका छन् । तर, वर्षेनी ६ लाख ३० देखि ५० हजार युवा विदेशिँदै छन् । उनीहरु यता मतदाता हुन्छन्, तर मतदान गर्ने बेलासम्म विदेशिइसक्छन् । चुनावमा भाग लिने दलहरु चाहिँ थपिएजति सबै मतदातालाई आफ्नोतिर हिसाब गरेर बसेका हुन्छन् ।
एक वर्षमा यति युवा विदेशिनु भनेको पाँच वर्षमा ३१ लाख ५० हजार देशमा नहुनु हो । यो संख्या थपिएका मतदाताभन्दा साढे चार लाखले कम हुन्छ । कोभिडका कारण विश्व श्रम बजारमा छाएको मन्दीको अन्त्य भएसँगै नेपाल भित्रिने विप्रेषण दर (रेमिट्यान्स) बढेको छ ।
तर, नेपालीको विदेशिने क्रम कोभिड कहरअघिको भन्दा कम छ । श्रम बजारमा जत्तिकै उच्च शिक्षाका लागि विदेशिनेको संख्या बाक्लो छ । विदेशी श्रम बजारमा जाने नेपालीले श्रम अनुमति लिनुपर्ने कारण त्यसको विवरण वैदेशिक रोजगार विभागसँग हुने भयो ।
तर, अध्ययनका लागि विदेशिने युवाको संख्या अद्यावधिक गर्ने निकाय छैन । शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ जारी भएका आधारमा हेर्दा श्रम बजारभन्दा बढी शिक्षा क्षेत्रमा युवाको पलायन देखिन्छ ।
नेपालमा आन्तरिक रोजगारी प्रवद्र्धन नहुँदा विदेशिनेको संख्या बढेको हो । जसरी प्रत्येक राजनीतिक दलले थपिएका नयाँ मतदातालाई आफ्नो पक्षमा हिसाब निकाल्ने गर्दछन्, त्यही रफ्तारमा रोजगारीका नयाँ–नयाँ क्षेत्रहरु पहिचान गर्दैनन् । हरेक वर्ष पाँच लाख श्रम शक्ति बजारमा आउँछन् ।
तर, यस वर्षमात्रै ६ लाख ३० हजार विदेश गए । अर्थात्, उत्पादित श्रम शक्तिभन्दा विदेशिनेको संख्या बढी हुनु देशका लागि लाभदायक होइन । ०७४ को चुनावपछि बढेको ३६ लाख मतदातालाई आकर्षित गर्ने योजना पनि सरकारसँग छैन । तिनलाई स्वदेशमा टिकाउन रोजगारी छैन । नयाँ–नयाँ उद्योग धन्दा खुलेका छैनन् । केही रोजगारी हाइड्रोपावरमा छ । त्यहाँ पनि भारतीय कामदार छन् । प्लम्बिङ, गहना बनाउने, इँटा, सौन्दर्यकर्मी, जुत्ता बनाउनेसम्मका क्षेत्रमा पारिका कामदार छन् ।
हामी आफ्नो देशलाई गरिव भन्छौँ । भारत धनी मुलुक हो भन्ने हामी नै हौँ । तर, भारतमा वर्षेनी विप्रेषण (रेमिट्यान्स) भिœयाउने मुलुकमध्ये नेपाल पाँचौं हो । अचम्म त के छ भने, नेपालको कूल जनसंख्या भारतको एउटा प्रान्तको भन्दा पनि कम, अर्थात् झण्डै ३ करोड छ ।
तर, यहाँबाट भारत जाने पैसाचाहिँ संसारभरबाट भित्रिनेमध्ये पाँचौ नम्बरमा ! खासमा रेमिट्यान्सले आन्तरिक उत्पादन हुँदैन, आयात बढाउने हो । पैसा भएपछि मानिसले विलासिताका सामान किन्छन् । त्यस्ता सामानको उत्पादन हामीकहाँ छैन । त्यो पैसा अन्ततः बाहिरिने नै हो । रेमिट्यान्सले देश धनी हुने होइन, तत्कालको गर्जो चलाउने मात्रै हो । त्यसैले दीर्घकालीन आर्थिक विकासका लागि औद्योगिक गतिविधि नै बढ्नुपर्छ भनिन्छ ।
टिप्पणीहरू