बुटवलका विद्यालयमा क्रान्तिकारीको ताला

बुटवलका विद्यालयमा क्रान्तिकारीको ताला

नेकपा बहुमत पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, रुपन्देहीले बुटवलका चारवटा विद्यालयमा तालाबन्दी गरेको छ । विद्यार्थीहरुबाट चर्को शुल्क असुलेको भन्दै संस्थागत र सामुदायिक विद्यालयहरुमा आज तालाबन्दी गरिएको छ ।

सामुदायिकतर्फ कालिका मानविज्ञान मावि, नवीन औद्योगिक कद्दरबहादुर रिता मावि र कान्ति माविको लेखा शाखामा ताला लगाइएको छ । त्यस्तै, संस्थागततर्फ न्यु होराइजन माविमा तालाबन्दी गरिएको संगठनले जनाएको छ ।

विद्यार्थीहरुसँग चर्को शैक्षिक शुल्क असुल गरेको, छात्रवृत्ति वितरणमा अपारदर्शिता, शैक्षिक सामग्री आफैं बिक्री वितरण गरेर व्यवसाय गरेकाले त्यसको विरोधमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारी, रुपन्देहीका संयोजक पारस राहादी मगरले बताए ।

पहिलो चरणमा लेखा शाखामा तालाबन्दी गरिएको र आफ्ना माग पूरा नभएमा मूलगेटमै ताला लगाएर धर्ना दिने चेतावनीसमेत दिइएको छ ।

संगठनले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली–२०७७ को कार्यान्वयन, सामुदायिक विद्यालयले लिने चर्को शुल्कका कारण विद्यार्थीले पढाइ छोड्नुपर्ने बाध्यताको अन्त्य, शिक्षकको पर्याप्त दरबन्दी, स्थानीय पाठ्यपुस्तकको व्यवस्थालगायत विभिन्न मागहरु राखेको छ ।

टिप्पणीहरू