सर्वोच्चमा रातारात तीन न्यायाधीश नियुक्त,एक जना सहप्राध्यापकबाट
हिजो राती बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेको छ । बैठकले दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना विश्वविद्यालयका प्राध्यापकलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको माइन्युटमा भर्खर हस्ताक्षर भएको छ ।
प्राप्त जानकारीअनुसार तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दिक्षीत,जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मालाई सर्वोच्चमा लगिएको हो । त्यसैगरी त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल ल क्याम्पसका चीफ प्रोफेसर डा. डीएन पराजुलीलाई पनि नियुक्त गरिएको स्रोतको दाबी छ ।
तर उच्च अदालतका मुख्य न्यायाधीशहरुमध्ये वरिष्ठतम नृपध्वज निरौलालाई भने हिजोको निर्णयबाट बाहिर पारिएको छ । उहाँलाई संविधानतः सेवा अवधि नपुगेका कारण नियुक्त गर्न नमिलेको परिषद् स्रोतको दाबी छ । मुख्य न्याायाधीशमा पाँच वर्ष सेवा गरेको हुनुपर्नेमा उहाँको जम्मा दुई वर्ष बढीको उच्च अदालतको मुख्य न्यायाधीशको अनुभव भएकाले नियुक्त नगरिएको भनिएको छ ।
हिजोको बैठकमा माओवादी निकटमध्ये बारका पूर्व पदाधिकारी तथा कानुन व्यवसायी दिनमणि पोखरेलको नाममा निकै चर्चा भए पनि उनलाई समेत नियुक्तिबाट बाहिर पारिएको बताइन्छ ।
टिप्पणीहरू