सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाको ताकेता

सम्पत्ति कर बुझाउन काठमाडौं महानगरपालिकाको ताकेता

महानगरपालिकाभित्र रहेका अनधिकृत संरचना हटाउन व्यस्त काठमाडौं महानगरपालिका सम्पत्ति कर उठाउनेतर्फ पनि उत्तिकै सक्रिय हुन थालेको छ । महानगरपालिकाले आज १७ वटा निकायलाई लेखेको पत्रमा आगामी १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिइएको छ ।

खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, साझा भण्डार, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थानलाई बक्यौता कर बुझाउन पत्राचार गरिएको छ ।

त्यस्तै, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, आर बि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि र डेन्टल कलेजलाई पनि कर बुझाउन महानगरले भनेको छ ।महानगरले भनेको छ, ‘काठमाडौं महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाइएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सोको जरिवानासहित बुझाउनुहुन अनुरोध छ ।’

फेरि पनि कर तिर्न अटेर गरेमा काठमाडौं महानगरपालिका राजश्व ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू