सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक (२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले उक्त कुरा जानकारी गराउनुभएको बताइएको छ ।
पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’ को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको उहाँको भनाइ छ । पर्यटन क्षेत्रको दीगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकाले भ्रमण दशकलाई अघि बढाइएको र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफूले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रुपमा नमूना प्रस्तुत गरेको उहाँको भनाइ छ । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउँदै मन्त्रीले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म बिस्तार गर्नुपर्नेमासमेत जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालिम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको व्यवस्था गरिने पनि बताउनुभयो । प्रतिष्ठानले मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकार, विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन–अनुसन्धान अघि बढाउनुका साथै सार्क सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना समेत अघि सारेको छ ।
पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको न्याथमले स्थापनाको ५० वर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने समारोहमा देश विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरुले पर्यटन क्षेत्रका विभिन्न आयामहरुबारे छलफल गर्ने बताइएको छ ।
टिप्पणीहरू